बागलुङ । चाडपर्वको समयमा यात्रा गर्न समस्या नहोस भनि जिल्ला ट्राफिक कार्यालय बागलुङले बागलुङको विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ ।
यात्रुलाई लामो र छोटो दुरीको यात्रा गर्दा समस्या नपरोस भनेर कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक सुमन निउरेले नयाँ विश्वलाई बताउनुभयो ।
बागलुङ नगरपालिका-१ को मालढुंगा, गलकोटको हटिया बजार र बुर्तिबाङ बजारमा सहायता कक्ष स्थापना गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।
जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रा गर्दा यात्रुलाई समस्या पर्यो भने तत्काल समाधान गर्नको लागि कक्षको स्थापना गरिएको हो।
चाडपर्वको समयमा सवारी भाडाका कारण यात्रु ठगिने, सामान हराउने, क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटना हुने जोखिम कम गर्न २४ घण्टे सहायता कक्षको स्थापना गरिएको निउरेले बताउनुभयो।
उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीले प्रहरी खटाएर यात्रुका गुनासोको सुनुवाइ गर्नुको साथै दोषीलाई कारवाही पनि गरिने उहाँले बताउनुभयो।
साथै सबैभन्दा बढी चाप हुने मध्यपहाडी लोकमार्ग हुँदै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट बाहिरिने तथा भित्रिने सवारी साधनको निगरानी र अनुगमन गरिने उहाँले बताउनुभयो।
यात्रुले यात्राका क्रममा भोगेका कुनै पनि समस्याहरू भए तत्काल सहायता कक्षबाट समाधान गरिने ट्राफिक प्रहरी प्रमुख निउरेले भन्नुभयो।
चाडबाडका बेला सवारी चाप अत्यधिक हुने भएकोले यात्रु सहायता कक्ष दशैंदेखि छठ पर्वसम्म नै सञ्चालनमा रहने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले नयाँ विश्वलाई जानकारी दिनुमभयो।













































































































































































































