३ श्रावण २०८३, आईतवार

 

ढुङ्गाको अवैध उत्खनन र बिक्री गर्दै एकबहादुर केसी

बागलुङ । व्यवसायी एकबहादुर केसीले अवैध रुपमा ढुङ्गाको उत्खनन, प्रशोधन र बिक्रीवितरण गरेको पाइएको छ ।

इँटा व्यवसायीसमेत रहनुभएका उहाँले ताराखोला गाउँपालिका–२ अर्गलको सिले गुराँसेबाट ल्याइएका ढुङ्गालाई प्रशोधन गरी गैरकानुनी ढङ्गले बिक्रीवितरण गरेको भेटिएको हो ।

बागलुङ नगरपालिका-३ पावरहाउसको इँटा भट्टा नजिकै ढुङ्गा काट्ने यन्त्र र मजदुर राखेर केसीले ढुङ्गाको व्यापार गर्दै आउनुभएको हो ।

सडकछेउमा पोल्ट्री फर्मको बोर्ड राखेर त्यसको तलपट्टिबाट उहाँले ढुङ्गा प्रशोधन र बिक्री गरिरहनुभएको छ ।

पर्यटन तथा उद्योग कार्यालयमा ‘थ्री ब्रर्दश ढुङ्गा तथा टायल सप्लायर्स’ नामको फर्म दर्ता गरेका केसीले सप्लायर्सको मात्र काम नगरी विगत सात महिनादेखि अवैध तरिकाले ढुङ्गाको उत्खनन र प्रशोधनसमेत गरेको भेटिएको हो ।

ढुङ्गा उत्खनन र प्रशोधनको काम उद्योगअन्तर्गत पर्ने भएपनि उहाँले सप्लायर्सका नाममा उक्त कार्य गर्दै आउनुभएको हो ।

केसीले गत चैतमा उक्त फर्म स्थापना गर्नुभएको थियो । उहाँले फर्मको ठेगाना ताराखोला गाउँपालिका–२ सिलको राखेपनि बागलुङ नगरपालिका–३ बाट ढुङ्गा प्रशोधन र बिक्री गर्दै आउनुभएको हो ।

सो नामको फर्म ताराखोला गाउँपालिकामा दर्तासमेत गरिएको छैन । केसीले ढुङ्गा उत्खननका लागि खानी सञ्चालनको अनुमति कुनैपनि निकायबाट लिनुभएको छैन ।

सप्लायर्सले तयारी ढुङ्गा मात्र बेच्न पाइने पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पारसिँह थापाले बताउनुभयो ।

सप्लायर्स फर्ममार्फत ढुङ्गा उत्खनन र प्रशोधन गरेको ठहरेमा त्यो कानुनी विपरीत हुने उहाँको भनाइ छ ।

“ढुङ्गा तथा टायल सप्लायर्स दर्ता गरेपछि उद्योगले तयार गरेको ढुङ्गा तथा टायलको खरिदबिक्री गर्न पाइने भएपनि ढुङ्गाको उत्खनन् र प्रशोधन गर्न पाइँदैन”, कार्यालय प्रमुख थापाले भन्नुभयो ।

ढुङ्गा उद्योग तथा खानीको विषय खानी तथा भुगर्भ विभागले हेर्ने उहाँको भनाइ छ ।

केसीले बागलुङ नगरपालिकामासमेत ‘थ्री ब्रर्दश ढुङ्गा तथा टायल सप्लायर्स’ फर्म दर्ता नगराएको बागलुङ नगरपालिकाका राजश्व शाखा प्रमुख काशिराम शर्माले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

“यो विषयमा नगरपालिकालाई कुनै जानकारी छैन, उद्योग, व्यापार सञ्चालन गर्दा जुन स्थानीय तहमा गर्ने हो त्यहाँ अनिवार्य दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ”, उहाँले भन्नुभयो । “दर्ता विना उद्योग र व्यापार सञ्चालन गरे कानुनी विपरित हुने” , शर्माले बताउनु भयो ।

“केसीले गाउँपालिकामा ढुङ्गा खानी दर्ता नगरीकन अर्गलको सिले गुराँसेमा ढुंगा उत्खनन गरिरहनु भएको छ” , ताराखोला गाउँपालिका-२ का वडाध्यक्ष भद्र घर्तीले भन्नुभयो“, केसीले गत मंसिरदेखि बिना अनुमति गैर कानुनी ढंगले ढुंगा उत्खनन गरेर विक्री गरिरहनुभएको छ ।”

ताराखोला गाउँपालिकामा ‘थ्री ब्रदर्श ढुंगा तथा टायल सप्लायर्स’ नामको उद्योग दर्ता नभएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत प्रकाश गैरेले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

व्यवसायी केसीले गाउँपालिकासँग स्वीकृत नलिइकन ढुंगा उत्खनन गरिरहेको उहाँले बताउनुभयो ।गाउँपालिकामा हाल १३ वटा ढुंगा खानी दर्ता रहेका छन् ।

यस विषयमा केसीसँग जानकारी लिन खोज्दा उहाँले कुरा गर्न चाहानु भएन ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung