३ श्रावण २०८३, आईतवार

 

सडक दुर्घटना घटाउन जनचेतनामुलक स्टीकर टाँस्दै ट्राफिक प्रहरी र सिटिजन लाइफका कर्मचारी

बागलुङ । बागलुङ बजारमा सडक दुर्घटना न्यूनीकरण गर्न जनचेतना मुलक सूचना भएको स्टीकर टाँस्ने अभियान सुरु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ र सिटिजन लाइफ इन्स्योरेन्स बागलुङ शाखाको सहकार्यमा आइतबार सार्वजनिक सवारी साधन र नीजि सवारी साधनमा जनचेतना मुलक सूचना भएको स्टीकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले नयाँ विश्वलाई बताउनुभयो ।

‘म जिम्मेवार चालक सुरक्षित गन्तव्य मेरो दायित्व’ लेखिएको जनचेतना मुलक सूचना भएको स्टीकर समित चोकमा ५५ वटा नीजि र सार्वजनिक सवारी साधनहरुमा टाँसिएको छ ।

बागलुङ नगरपालिकासहित सबै पालिकाहरुमा चाडपर्वमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीसँगको सहकार्यमा सचेतना अभियान सञ्चालन गरिएको सिटिजन लाइफ इन्स्योरेन्स बागलुङ शाखाकी प्रमुख कमला शर्माले बताइन् ।

सचेतनामुलक स्टीकरले चालकलाई जिम्मेवार बनाउन सहयोग गर्नुको साथै दुर्घटनामा कमी ल्याउछ भनि यो अभियान सुरु गरिएको सिटिजन लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख दिपेन्द्र शर्मा लम्सालले नयाँ विश्वलाई बताउनुभयो ।

सडक दुर्घटना न्यूनीकरण गर्न पहिलो चरणमा मोटर साइकल, स्कुटर, ट्याक्टर, पिकप भ्यान र अटो रिक्सा लगायतका सवारीसाधनमा स्टीकर टाँस्न सुरु गरिएको र दोस्रो चरणमा लामो दुरीको बस, जिप र माइक्रो बसहरुमा टाँस्ने ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक निउरे जानकारी दिनुभयो ।

बढी दुर्घटना हुने स्थानको पहिचान गरी न्यूनीकरणका उपाय, ट्राफिक लेन अनुशासन तथा डिभाइडर राख्ने कामलाई पनि निरन्तरता दिँदै आएको ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

ट्राफिक प्रहरीले बागलुङमा चाडपर्वमा दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियानहरु चलाएको छ ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सम्बन्धी जानकारी गराउने उद्देश्यले सवारी चालकहरुलाई सम्मान गर्दैै सवारी साधन चलाउँदा अनिवार्य रुपमा सिट बेल्टको प्रयोग, हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ तथा नसाजन्य चिज वस्तुहरु सेवन गरी सवारी साधन नचलाउन, तीब्र गतिमा सवारी साधन नचलाउन भन्दै सवारी चालकलाई सचेतनामूलक सन्देश दिइरहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung