बागलुङ। नेपाल बिमा प्राधिकरणले लगानी व्यवस्थापन इकाई स्थापना गर्न निर्देशन दिएको छ। प्राधिकरणले जीवन बिमा, निर्जीवन र्बिमा तथा पुनर्बिमा व्यवसाय गर्ने सबै बिमा कम्पनीहरूलाई सो इकाई स्थापना गर्न निर्देशन दिएको हो।
जसअनुसार लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धि कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी सो इकाई स्थापना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी दिन बिमा कम्पनीहरूलाई निर्देशन दिइएको छ।
यस्तै लघुबिमा व्यवसाय गर्ने लघुबिमा कम्पनीहरूलाई लगानी व्यवस्थापन कार्यका लागि सोसम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी दिई सात दिनभित्र प्राधिकरणमा जानकारी दिनुपर्ने छ।
साथै, बिमा कम्पनीहरूले यसअघि लगानी सम्बन्धी व्यवस्थाको कार्यान्वयन गरिसकेको भए सो को समेत जानकारी दिनुपर्ने प्राधिकरणले बताएको छ।
















































































































































































