२० जेष्ठ २०८३, बुधबार

 

धार्मिक स्थललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्छौँ : मुख्यमन्त्री पाण्डे

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गण्डकी प्रदेशको प्रमुख क्षेत्र पर्यटन रहेको बताउनुभएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिले चैत्राष्टमी पर्वको अवसरमा आयोजना गरेको धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला–२०८१ को उद्घाटन गर्दै पाण्डेले प्रदेशले धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्रबद्र्धन गर्दै आएको बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय सहर घोषणा गरिएको बताउँदै प्रदेश भित्रका धार्मिक स्थलहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो ।

‘प्रदेश राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिसकेका छौं,’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो,‘प्रदेशभित्र पर्यटक भित्र्याउन नेपाल भित्र र बाहिर प्रचार गर्ने उद्देश्य रहेको छ । प्रदेश भित्रका धार्मिकस्थललाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्दै जान्छौं ।’सिमित स्रोत

र साधनको कारण सवै पर्यटकीय क्षेत्रको विकास एकै पटक गर्न सम्भव नभएकोले पालैपालो गर्ने मुख्यमन्त्री पाण्डेको भनाई छ । ‘हाम्रो सिमित स्रोत र साधनको कारण सवै एकैपटक गर्ने स्म्भावना छैन,’ उहाँले भन्नुभयो,‘हामीले पालैपालो पर्यटनकइि क्षेत्रको प्रबद्र्धन गर्ने गरी अगाडी सारेका छौं । भोलीका दिनमा पर्यटकीय क्षेत्रको प्रबद्र्धनलाई निरन्तर दिन्छौं ।’

मुख्यमन्त्री पाण्डेले सवै धर्म, संस्कृति र भाषाको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने राज्यको कर्तव्य रहेको बताउनुभयो । ‘चैत्राष्टमी मेलामा पनि विभिन्न संस्कृतिक प्रदर्शन गरियो । नेपाल बहुभाषिक, बहुसंस्कृतिक, बहुजातिय, बहुधार्मिक मुलुक हो,’ उहाँले भन्नुभयो,‘सवै धर्म, संस्कृति र भाषाको संरक्षण र सम्र्बद्धन गर्नुपर्ने राज्यको कर्तव्य हो ।’

गण्डकी प्रदेशले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रक्रिया अघि बढाएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेशभित्रका भाषा, धर्मलाई कानुनी रुपमा लाने क्रम सुरु भएको बताउँदै गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन सदनमा विधेयक अगाडी बढाएको बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठ, गुठी संस्थानका अध्यक्ष डा शिव कुमार पण्डितले पनि मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम कालिका भगवती गुठी मेला व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षता, उपाध्यक्ष निशान खड्काको स्वागत मन्तव्य र गुठी संस्थान केन्द्रीय कार्यालय सहायक प्रशासन राजेन्द्र दाहालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung