
बागलुङ । बागलुङ उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको पदाधिकारी चयन गरिएको छ । संघको १९औँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित राजन कुमार शाक्यको अध्यक्षतामा शुक्रबार सम्पन्न तेश्रो बैठकले संघको पदाधिकारी चयन गरेको हो ।
संघको विधानमा कार्यसमितिको पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपमहासचिव, सहकोषाध्यक्ष र महिला सचिव निर्वाचित सदस्यबाट मनोनित गर्ने व्यवस्था रहेको छ ।
बैठकले वरिष्ठ उपाध्यक्षमा ऋषिराम गौतम, प्रथम उपाध्यक्ष नविन कुमार श्रेष्ठ, द्धितीय उपाध्यक्ष केशव वझा, महासचिव ईन्द्रमणी पौडेल (अर्जुन), कोषाध्यक्ष मनिष राजभण्डारी, उपमहासचिव अर्जुन प्रसाद कँडेल, सहकोषाध्यक्ष चन्द्रराज रेग्मी र महिला सचिवमा सृजना राजभण्डारी सर्वसम्मत निर्वाचित हुनु भएको अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिनु भयो ।
अध्यक्ष,खुल्ला सदस्य १४, महिला उद्यमी सदस्य २, उद्योग सदस्य २, मनोनित सदस्य ४ र निर्वतमान अध्यक्षसहित २४ सदस्यीय कार्यसमिति हुने विधानमा व्यवस्था रहेको छ । विधानअनुसार अध्यक्षले केशव वझा र मिना जिसी कँडेललाई सदस्यमा मनोनित गर्नु भएको र दुईजना मनोनित गर्न बाँकी रहेको छ ।
विधानमा कार्यसमितिका पदाधिकारी सदस्यमध्येबाटै चुनिने व्यवस्था रहेको छ । सहमति नभए निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन गर्ने र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिएर पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ ।