३१ बैशाख २०८२, बुधबार

 

गोटी खेलाई अवैध पैसा असुल्नेलाई नगर प्रहरीले समायो, प्रहरीले नियन्त्रणमा लिन मानेन

बागलुङ । बागलुङमा  गोटी जुवा जस्तै खेल खेलाई अवैध ढंगले पैसा असुल्नेलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गर्न अस्वीकार गरेको छ ।

प्रहरीको आँखा अगाडि नै लामो समयदेखि बागलुङ नगरपालिका-१ वाङगेचौरको लामो पुल परिसरमा अवैध ढंगले गोटी खेलाई सोझासाझा स्थानीयबाट रकम ठगि गर्नेको विषयमा स्थानीयले आवाज उठाउदै आएको थिए ।

यस घटनामा सम्लग्न दुई जना युवालाई बागलुङ नगरपालिकाको नगर प्रहरीले नियन्त्रण लिएर प्रहरीलाई जिम्मा लगाएपनि जिल्ला प्रहरी कार्यालय बागलुङले कुनै कारवाही नगरि फिर्ता पठाएको छ । यस अघि पनि नगर प्रहरीले विभिन्न समयमा गोटी नियन्त्रणमा लिने तथा प्रहरीलाई खवर गरेपनि प्रहरीले यस विषयमा नजर अन्दाज गरेको नगरपालिकाले जनाएको छ ।

सोमबार पुल परिसरबाट गोटी खेलाईरहेका पोखरा उप महानगरपालिका १७ विरौटाका कृष्ण घिमिरे र जैमिनी नगरपालिका ६ का कृष्ण थापालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपनि प्रहरीले फिर्ता पठाएको छ ।

दुई जनाको साथबाट ३ थान गोटी र नगद १० हजार ३ सय ३० नगर प्रहरीले बरामत गरेको छ ।नगर प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति रित पूर्वक नपठाएको भनि फिर्ता पठाएको बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले नयाँ विश्वलाई बताउनुभयो ।

नगर प्रहरीले क्षेत्राधिकार भन्दा वाहिर गएर नियन्त्रणमा लिएको, मुचुल्का नउठाई नियन्त्रण लिएकोले कानुन सम्वत नभएको र पक्राउ गरेपछि मुद्दा चलाउन कानुनी जटीलता हुने भएकोले प्रहरीले फिर्ता पठाएको कँडेलले बताए ।

नगर प्रहरीले नियन्त्रणमा दिएका २ जनालाई प्रहरीले वुझ्न नमानेपछि नगरपालिकाले त्यसै छाड्न बाध्य भएको छ ।

अवैध ढंगले लामो समयदेखि बागलुङ बजारको विभिन्न स्थानमा जुवा खेलाएर सोझा स्थानीयसँग पैसा असुल्ने कार्य गरि रहेपनि प्रहरी प्रशासन यस विषयमा मौन भएर बस्ने गरेको छ । नगरका विभिन्न होटल, रेष्टुरेन्ट र घरहरुमा व्यवसायिक रुपमा जुवा तास, कौडा, पासा खेलाउने कार्य लामो समयदेखि हुँदा समेत प्रहरीले जुवाडेलाई पक्राउ गरेको छैन् ।

प्रतीकात्मक तस्बिर

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung