काठमाडौं। माछापुच्छ्रे बैंकले मलेसियास्थित सीबीएल मनी ट्रान्सफरसँग औपचारिक सम्झौता गरेको छ। विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ बैंकले उक्त सम्झौता गरेको बताएको छ।
बैंकले मलेसियामा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ सो मनी ट्रान्सफरसँग सहकार्य गरी सोमबार देखि रेमिटेन्स सेवा सुरु गरेको हो।

रेमिट्यान्ससम्बन्धि उक्त सम्झौतापत्रमा सीबीएल मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौतापछि अब मलेसियामा रहेका नेपालीहरुले मलेसियास्थित सो मनी ट्रान्सफरका १५ वटा शाखा र मनी ट्रान्सफरको सिटी रेमिट एप बाट एमबीएल रेमिट गरी नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखा, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिने बताइएको छ।
सीबीएल मनी ट्रान्सफर र सिटी रेमिट एपबाट एमबीएल रेमिट गरी पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाइएको बैंकले बताएको छ।
मलेसियामा रहेका नेपाली कामदारहरूको सुविधाको लागि माछापुच्छ्रे बैंकले मलेसियाकै मोबाइल नम्बरमा माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपको सेवा पनि उपलब्ध गराएको जनाएको छ।







































































































































































































