३ श्रावण २०८३, आईतवार

 

नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउन चन्द्रप्रसाद ढकालको आग्रह

बागलुङ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई प्रभावकारी बनाउँदै सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा आजदेखि यहाँ सुरू भएको तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम) को उद्घाटन कार्यक्रममा उहाँले कनेक्टिभिटीका लागि नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउँदै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “हाम्रा दुई छिमेकी देशहरू भारत र चीनमा बौद्ध अनुयायीहरूको सङ्ख्या बढी छ। उहाँहरू पनि यहाँ आउन इच्छुक हुनुहुन्छ। हामीले छिमेकी मुलुकबाट पर्यटक यहाँ सोहीअनुसार योजना बनाउनुपर्छ।

यहाँका उत्पादनको ‘ब्रान्डिङ’ गर्नुका साथै पर्यटक लक्षित ‘प्याकेज’हरू तयार गर्नुपर्छ।” पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकाससँगै कनेक्टिभिटी बढाउन पनि सरोकार भएका निकायलाई अध्यक्ष ढकालले आग्रह गर्नुभयो ।

मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गर्दै उनले मार्टलाई परिस्कृत गरी ब्रान्डका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले बौद्ध पर्यटन प्रवर्द्धनका लागि नेपालको लुम्बिनीसहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थलहरू तथा भारतमा रहेका तीर्थस्थलहरूसँग जोडेर ‘बौद्ध सर्किट’ विकास गर्नुपर्ने बताउनुभयो।

क्यापिटल नेपालबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung