३ श्रावण २०८३, आईतवार

 

संसारकोटमा करोडको पर्यटकीय पूर्वाधार

बागलुङ। बागलुङको संसारकोट पूर्वाधार निर्माणले मुहारै फेरिन थालेको छ । शक्तिशाली राज्य सञ्चालन गरिएको संसारकोटमा भग्नावशेष अवस्थामा रहेको दरबारको पर्खालहरु पुनःनिर्माण गरिएको छ भने धार्मिक पर्यकटलाई लक्षित गरी सत्तल र पदमार्ग लगायतका पूर्वाधार निर्माणले गति लिएका छन् ।

बागलुङ नगरपालिकाको धार्मिक तथा पुरातत्वक्षेत्रको रुपमा रहेको संसारकोटमा दुई महिना यता मन्दिरसहितको पूर्वाधार निर्माण भइरहेको छ । बागलुङ नगरपालिका–७ मा पर्ने संसारकोट पछिल्लो समय धार्मिक पर्यटकलाई पदमार्ग मार्फत त्यहाँ पु-याउन थालिएको छ ।

संसारकोट दरबारको पर्खाल पुनःनिर्माण तथा भगवती मन्दिर निर्माणमा खटिएका कामदारहरु दुई महिना यता जंगलमै बाँस बसेर पूर्वाधार निर्माणमा खटिएका छन् । धार्मिक तथा पुरातात्विक महत्वको संसारकोट पछिल्लो समय चर्चा बटुल्न थालेको छ ।

नगरपालिकाले संसारकोटलाई महत्वको पर्यटकीय गन्तव्यको रुपमा चिनाउन २०७७ सालबाट थालेपनि पछिल्लो समय पूर्वाधार निर्माणमा जोड दिएको छ ।

समुन्द्री सतहदेखि दुई हजार ४९० मिटरको उचाईमा रहेको संसारकोटमा अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन गरेको रु ३६ लाख बजेटबाट अहिले भगवती मन्दिर र संसारकोटको भग्नावशेष बाँकी पर्खालको पुनःनिर्माण भइरहेको छ ।

पुनःनिर्माणमा खटिएका कामदारहरु दुई महिना यता संसारकोटको घना जंगलमै बाँस बसेर काममा खटिएको निर्माण आयोजना उपभोक्ता समितिका अध्यक्ष केशव बहादुर कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार अहिले सम्म भग्नावशेष दरबारको पर्खाल पुनःनिर्माण, संसारकोट पुग्ने पदमार्ग, सत्तल लगायतको संरचनामा अहिले सम्म एक करोड बराबरको पूर्वाधार निर्माण भइसकेको छ । २०७७ सालमा पुरातात्व विभागले रु ३० लाख बजेटमा दरबारको पर्खाललाई पुनःनिर्माण थालिएकोमा २०७९ सालमा रु २० लाख बजेट थप विनियोजन गरिएको थियो ।

“विभागले ढुङ्गा कुँदेर कलात्मक ढंगले रु ५० लाख बजेटबाट ५० मिटर ढुङ्गाको मात्रै पर्खाल लगाइएको थियो, अहिले पर्यटन मन्त्रालयको रकमबाट २० मिटर पर्खाल थप निर्माण र भगवतीको मन्दिर बनिरहेको छ, मन्दिर ढुङ्गा र काठको मात्रै प्रयोगले निर्माण गरिएको छ” कार्कीले भन्नुभयो “संसारकोटमा आउने चार किलोमिटर पदमार्ग बागलुङ नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट नौ लाख खर्चेर बनाइएको छ, पछिल्लो पाँच वर्षमा संसारकोट पर्यटकीय पूर्वाधार निर्माणमा रु एक करोड तीन लाख खर्च भइसकेको छ ।”

संसारकोटमा प्यागोडा शैलीको मोक्षदेवि भगवती मन्दिर, कलात्मक पर्खालको पुनःनिर्माण, सत्तल, खानेपानीका लागि आवश्यक पूर्वाधार तथा त्यहाँ पुग्ने पदमार्ग निर्माणले पछिल्लो समय धार्मिक पर्यटकहरु आकर्षण गर्दै आएको छ । अहिले संसारकोटमा विद्युत समेत पु-याइएको छ ।

तीन वर्षअघि खसगाउँदेखि थाप्लोसम्म ४०० मिटर पदमार्ग, अर्कोवर्ष संसारकोटदेखि सम्मेनी सम्मको पदमार्ग, खसगाउँ चौपारी देखि सम्मेनी सम्म र रामाइलो डाँडा गरी झण्डै चार किलोमिटर पदमार्ग निर्माण सम्पन्न गरिएको छ । अहिले खसगाउँदेखि र संसारकोटको बीच भागमा पदमार्ग बनाउन बाँकी रहेको कार्कीको भनाई छ ।

पदमार्गको बीच–बीचमा चार वटा चौतारी समेत निर्माण भइसकेका छन् । पर्यटन प्रवद्र्धन कार्यक्रम तथा पुरातात्विक स्थलको संरक्षण, मर्मत र जिर्णोद्वार कार्यक्रमले संसरकारकोटको मुहार फेरिदै गएको छ ।

बागलुङ जिल्लाको ऐतिहासिक पर्यटकीय स्थलको रुपमा परिचित यस संसारकोट बागलुङ जिल्लाको पाला, मुलपानी, मालिका, भिमपोखरा, धम्जा र म्याग्दी जिल्लाको ज्यामरुककोट, गौश्वरा तथा अर्कोतर्फ भकिम्ली समेतको जंगलको धुरीमा पर्दछ । बागलुङ जिल्लाका पर्यटकीय स्थलहरुमध्ये ऐतिहासिक रुपमा चिनिने यस संसारकोट प्रसिद्ध गन्तव्यको रुपमा रहेको छ ।

संसारकोट, ऐतिहासिक पर्यटकीय र साँस्कृतिक महत्व बोकेको क्षेत्रमा तत्कालिन बाइसे-चौबिसे राज्य अन्तरगर्त पर्वते राजाले शासन गर्ने गरेको बुढापाकाले बताउने गरेको स्थानीय तेज प्रसाद न्यूरेले जानकारी दिनुभयो ।

उहाँले बागलुङ नगरपालिका–६ र ७ नम्बर वडामा ताराजालकोट, कारिकोट, माझकोट, रायराँयकोट र शिरमा संसराकोट रहेकाले अहिले सबैको संगम स्थलको रुपमा पञ्चकोटको नामाकरण गरेर धार्मिक पर्यटक समेत भित्राइरहेको छ ।

संसारकोटबाट नेपालका अन्नपुर्ण, माछापुछ्रे र धौलागिरी लगाएतका हिमश्रृङखलाको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung