बागलुङ । नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा बागलुङमा संचालित सी।सं।१७ सैन्य आधार तालिम सम्पन्न भएको छ । गत साउनदेखि सञ्चालित नौ महिने सैन्य आधार तालिम सम्पन्न भएको हो। तालिम समापनका अवसरमा सैन्य जवानलाई अन्तिम दलेल कवाज प्रदर्शनीसँगै दीक्षित गरिएको थियो।
सो अवसरमा वाहिनीपति सहायक रथी अर्जुन खड्काले नेपाली सेनाको मूल्य मान्यता र परम्परालाई पालना गर्दै राष्ट्र, जनता र संस्थाप्रति समर्पित रही इमान्दार र अनुशासित भई जस्तोसुकै परिस्थितिमा पनि अविचलित रूपमा काम गर्न निर्देशन दिनु भयो । उहाँले राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षण एवं जगेर्ना गर्नको लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गर्दै सदैव राष्ट्र र जनताको हितमा आफूलाई समर्पित गर्न निर्देशन दिनु भयो ।
तालिमका विविध विधाहरुमा सर्वोत्कृष्ट नतिजा हासिल गरी प्रथम भएका तालिमे सिपाही कपिल थापालाई खुकुरी प्रदान गर्नुका साथै अन्य विविध विधाहरुमा प्रथम हुने तालिमे सिपाही जवानहरुलाई मेमेन्टो प्रदान गरिएको थियो ।
नेपाली सेनाको २३ नम्बर बाहिनी उपल्लाचौरमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायतको उपस्थिति रहेको थियो ।तालिमबाट १ सय ५ जना सेनाको नव सिपाही दीक्षित भएका छन् ।
















































































































































































































