४ श्रावण २०८३, सोमबार

 

भैरवस्थान मन्दिरमा २७ लाख भेटी संकलन

बागलुङ । नेपाल सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रको रुपमा सुचिकृत बागलुङको भैरवस्थान मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार मिर्नाणसंगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठ मध्यको एक बागलुङ बलेवाको भैरवस्थान ( कालभैरव मन्दिर ) मा भेटी संकलन तेब्बरले वृद्धि भएको छ ।

धार्मिक पर्यटक भित्राउदै आएको बागलुङ नगरपालिका–१२ स्थित कालभैरव मन्दिरमा २०७९ सालमा छ वर्षपछि गुठी वयवस्थापन समिति सक्रिय भएपछि पूर्वाधार निर्माणले तिब्रता पाएसँगै यहाँ आउने दर्शनार्थीहरुको संख्यामा वृद्धि भएको छ । दर्शनार्थीहरुको संख्यामा वृद्धि भएपछि भेटी संकलन दर समेत तेब्बरले वृद्धि भएको छ ।

समिति मार्फत पूजा चलाउन थालेको एक वर्ष भएको बताउदै भैरवस्थान मन्दिर गुठी यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रराज ढकालले आम्दानी तेब्बरले वृद्धि भएको बताउनुभयो ।मालपोत कार्यालय बागलुङद्वारा ठेक्कामा भेटी संकलन गरिदै आएकोमा आर्थिक वर्ष २०८१÷८२ मा गुठी व्यवस्थापन समितिले जिम्मा लिएपछि भेटी संकलन तेब्बरले वृद्धि भएको हो ।

“आर्थिक वर्ष २०८०-८१ मा ठेक्का मार्फत ९ लाख आम्दानी भएकोमा समिति मार्फत पूजा चलाउदा २७ लाख आम्दानी भएको छ, ठेकेदारले नाफा कमाउदा मन्दिर अस्तव्यस्त भएकाले समिति मार्फत पूजा चलाउने र आम्दानीले भौतिक संरचना र दर्शनार्थीको सुविधा थप गर्ने हाम्रो उदेश्य छ” अध्यक्ष ढकालले भन्नुभयो “कोरोना महामारीमा ५० हजार भेटी संकलन भएको मन्दिरमा अहिले २७ लाख भेटी संकलन भएको र आगमी वर्ष भेटी संकलन अझै बढ्ने अपेक्षा छ ।”

पछिल्लो दुई वर्ष यता बलेवा काल भैरवको पूर्वाधारमा सत्तल, सचिवालय, प्रवेशद्वार, पदमार्ग, खानेपानी, शौचालय लगायतका पूर्वाधारमा ८० लाख भन्दा बढी रकम खर्च भइसकेको ढकालले जानकारी दिनुभयो । समिति, संघीय सरकार, गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाबाट पूर्वाधार मिर्नाणमा सहयोग भएको समितिका कोषाध्यक्ष चन्द्र केसीले जानकारी दिनुभयो । उहाँले अघिल्लो व्यवस्थापन समितिले बनाएको गुरुयोजना, हिसाब किताब नपाएको र समिति नहुँदा मन्दिरको अवस्था बिग्रिएकाले यो वर्षदेखि आय वयय सार्वजनिक तथा लेखा परिक्षण गराउदै आएको बताउनुभयो ।

समितिको आन्तरिक रकमबाट ११ वटा व्यावसायिक सटरहरु निर्माण गरेपछि आगामी वर्षबाट मन्दिरको मासिक आम्दानी समेत भइरहेको छ । अहिले मासिक ३० हजारमा सटर भाडामा लागाइएको छ । समुन्द्री सतहदेखि एक हजार ४०० मिटरको उचाईमा रहेको भैरवस्थानको मुख्य मन्दिर भने पुरानो रहेको छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधारहरू निर्माणले गति लिएको छ भने वर्षौदेखिको ठेक्का तोडेर समितिले आम्दानी लिन थालेको छ ।

तीन सय वर्षभन्दा पुरानो मन्दिरमा पछिल्लो समय सडक सुविधा पुगेपछि धार्मिक पर्यटकमा वृद्धि भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग सिमाना जोडिएको छ । कालभैरव मन्दिरको प्रचारप्रसार र महिमाका कारण पछिल्लो समय आन्तरिक पर्यटक बढेपछि सडक स्तरोन्नती, पदमार्ग, व्यावसायिक सटर, सक्तल लगायतका पूर्वाधार थपिदा मन्दिरमा पुग्ने दर्शनार्थीको चाप बढेपछि भेटी संकलन समेत बढिरहेको ढकालको भनाई छ ।

विसं १७८० सालतिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ । मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको पाइन्छ । पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा दाजुभाइमाझ झगडा परेपछि एक भाइ छुट्टिएर बलेवामा आएको र भैरवलाई पनि छुट्याएर यहीँ ल्याएर स्थापना गरेको विश्वास गरिन्छ । मनोकांक्षा पूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको संख्यामा बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung