बागलुङ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेनेबीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ।
उक्त भेटवार्तामा दुई देशबीचको आर्थिक सहकार्य, व्यापार, लगानी, साना तथा मझौला उद्यम र दीर्घकालीन साझेदारीका विषयमा छलफल भएको हो।
सो अवसरमा महासंघका अध्यक्ष ढकालले नेपाल–स्पेन सम्बन्धलाई निजी क्षेत्रमार्फत अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै स्पेनसँग सहकार्य गरी नेपाली बजारमा प्रविधि, पुँजी र अनुभव भित्रयाउन सकिने बताउनुभयो।
अध्यक्ष ढकालले त्यसका लागि निजी क्षेत्र पूर्णरूपमा तयार रहेका धारणा राख्नुभयो। स्पेन चेम्बर अफ कमर्ससँगको प्रस्तावित समझदारीपत्रको प्रारम्भिक मस्यौदा प्रति आभार व्यक्त गर्दै अध्यक्ष ढकालले त्यसले साझा दृष्टिकोण र दीर्घकालीन सम्बन्धका लागि आधारशिला बनाउने विश्वास व्यक्त गर्नुभयो।
यस्तै, उहाँले महासंघसंग हुने समझदारीले नेपाल र स्पेनबीचको निजी क्षेत्रीय समन्वय र विश्वासलाई नयाँ उचाइमा पुर्याउने धारणा राख्नुभयो।
भेटका क्रममा दुवै पक्षले आपसी आर्थिक सम्बन्धलाई थप गहिरो बनाउन संयुक्त पहल आवश्यक रहेको र साझा कार्यक्रम तथा सहकार्यबाट व्यवसायिक समुदायहरू लाभान्वित हुनेमा विश्वास व्यक्त गरेका थिए।
क्यापिटल नेपालबाट













































































































































































































