२ श्रावण २०८३, शनिबार

 

बागलुङको नेवार समुदायको ताया : मचा (भिडियो)

बागलुङ । बागलुङमा गाइजात्राको अवसरमा ८ जना मृतकको संझनामा ताया : मचा निकालिएको छ । बागलुङमा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

गाइजात्राको अवसरमा तायाःमचा र बास्सा नाच देखाइएको हो । एक वर्षभित्र दिवंगत भएका आत्माको चिरशान्तिको कामना गर्दै यस पर्वको आज सदरमुकाम बागलुङ बजारमा विशेष आयोजना गरिएको हो ।

नेवार समुदायले मृत परिवाजनको सम्झनामा मनाउने गाईजात्रा पर्वमा यस वर्ष बजारका नेवार परिवारका मृत ८ जना सदस्यको सम्झनामा ‘तायाः मचा’ बनाई नगर परिक्रमा गरिएको हो ।

नारायणचोकको लक्ष्मीनारायण मन्दिरबाट तायाःमचा र राधाकृष्ण मन्दिरबाट बास्सा नाच निकालिएको थियो । नारायणचोकबाट सुरु भएको जात्रा मरेपिपलको परिक्रमा गर्दै पुनः नारायणचोकमै पुगेर सम्पन्न भएको हो ।

स्थानीय परम्परा अनुसार, नेवार समुदायमा मृत्यु भएको व्यक्तिको आत्माले शान्ति पाउनका लागि ‘तायाः मचा’ मरेपिपलसम्म पुर्याई देखाइने र त्यसपछि मात्र फर्काइने चलन छ ।

यस पर्वमा सांस्कृतिक पहिरन, परम्परागत बाजागाजा, नाचगान र सामूहिक सहभागिता देखिने भएकाले यसले स्थानीय संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पु-याउँदै आएको नेपाल भाषा मंका: खल: बागलुङका अध्यक्ष जयराम भारीले बताउनुभयो ।

बजारमा गाइजात्राको दिन परम्परागत ढोल, नगारा र भिंग–भिंग ध्वनिले उत्सवमय वातावरण बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung