३ श्रावण २०८३, आईतवार

 

उद्योग व्यापार संगठन बागलुङको बैठक सम्पन्न, बिस लाखको अक्षय कोष स्थापना गर्ने

बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको बैठक शनिबार बागलुङ बजारको होटल समिटमा सम्पन्न भएको छ । बैठकमा प्रस्तुत छ वटा प्रस्तावमाथि व्यापाक छलफलपछि पारित भएको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका उपाध्यक्ष गगनबहादुर पुन मगरले नयाँविश्वलाई बताउनुभयो ।

बैठकमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले कर्जा व्यवस्थापन तथा उद्योग, पसलको बिमा संम्बन्धी अन्तरक्रिया राख्ने, विद्युतको उपयोग र फाइदा विषयक तालिम सञ्चालन गर्ने, भदौ २२ गते बागलुङ बजारमा आर्थिक विषयमा विचार गोष्ठी आयोजना गर्ने, संगठनको अक्षय कोष स्थापना गर्ने, संगठनको बागलुङ नगरपालिका-३ लालिगुराँस चोकमा कार्यालय स्थापना गर्ने र आगामी भदौ २१ गते पोखरामा हुन लागेको महिला उद्यमी भेलामा उद्योगी व्यवसायी महिलालाई पठाउने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

बैठकले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले बिस लाखको अक्षय कोष बनाउने तयारी पनि गरेको छ। बैठकले संगठनको अक्षय कोष निर्माणको लागि कोषाध्यक्ष मनकाजि विश्वकर्माको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ ।

उपसमितिको सदस्यहरुमा संगठनका उपाध्यक्षहरु गगनबहादुर पुन मगर, प्रकाश पौडेल, महासचिव गोकुल प्रसाद कँडेल, सल्लाहकार मनोविज्ञान श्रेष्ठ, महिला उद्यमी संयोजक ललिता थापा, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नगर समितिका अध्यक्ष हेमलाल पौडेल सदस्य रहेका छन् ।

आर्थिक कोष निर्माण उपसमितिले कोष संम्बन्धी अवधारणा ल्याउने र अक्षय कोष स्थापना गर्न सबै पालिकामा अभियान सञ्चालन गर्ने भएको छ । अक्षय कोषमा सहयोग गर्ने दाताहरुलाई विशेष सम्मान गर्ने कार्यक्रम पनि रहेको संगठनका कोषाध्यक्ष तथा आर्थिक कोष निर्माण उपसमितिका संयोजक  विश्वकर्माले जानकारी दिनु भयो ।

बैठकलाई नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल, सल्लाहकार रतन प्रसाद मलेपती, सदस्य गिता खड्का, दुर्गा विकले विभिन्न सुझाव प्रस्तुत गर्नु भएको थियो । बैठक नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता र उपाध्यक्ष प्रकाश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung