बागलुङ । बागलुङ कारागारका महिला कैदीबन्दीलाई टेलिभिजन र खाजा सहयोग गरिएको छ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले कारागारमा रहेका महिला कैदीबन्दीलाई सूचना र मनोरञ्जन प्राप्त होस भनेर सोमबार ३२ इन्चिका दुई वटा टिभी र खाजा उपलब्ध गराएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सिनियर एडभाइजर पार्वती अधिकारी, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका अध्यक्ष प्रकृति राजभण्डारी, रिजन चियर पर्सन जुनु श्रेष्ठले कारागारका प्रशासन तथा आन्तरिक प्रशासन महिला तर्फका चौकीदार निशा रेग्मीलाई उक्त टिभी हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सिनियर एडभाइजर पार्वती अधिकारी, डिष्ट्रिक कोडिनेटर अनुप रिजाल, रिजन चियर पर्सन जुनु श्रेष्ठ, बागलुङ कारागारका प्रशासक धिरेन्द्र राज पन्तले मन्तव्य व्यक्त गर्नुका साथै विजया दशमी, दिपावली, नेपाल संम्वत् र छठ पर्वको उपलक्ष्यमा शुभकामना पनि व्यक्त गर्नु भएको थियो ।
बागलुङ कारागारको तर्फबाट कार्यक्रममा सहभागि सबैलाई कारागारमा उत्पादन भएको मुडा उपहार स्वरुप उपलब्ध गराइएको बागलुङ कारागारका प्रशासक पन्तले नयाँ विश्वलाई बताउनुभयो ।
टेलिभिजन अमेरिकाको डलास राज्यमा रहेको अमर क्षेत्री फाउण्डेसनले उपलब्ध गराएको थियो ।
कारागारमा एक सय ५६ जना पुरुषबन्दी, १४ महिलाबन्दी र एक जना नाबालक आश्रित गरी एक सय ७१ जना रहेका छन् ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका अध्यक्ष प्रकृति राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष सिता श्रेष्ठको स्वागत र सचिव चाँदनी श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
















































































































































































































