३ श्रावण २०८३, आईतवार

 

निरयघाटमा हुने महायज्ञका लागि सचिवालय स्थापना

बागलुङ । मानवसेवा आश्रम बागलुङ शाखाको निर्माणधिन भवन सम्पन्न गर्नका लागि कात्तिक २१ गतेदेखि २८ गतेसम्म संचालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञका लागि सचिवालय स्थापना गरिएको छ । आइतबार बागलुङ नगरपालिका–२ मा सचिवालय स्थापना गरिएको हो ।

सचिवालयबाट महायज्ञको प्रचारप्रसार, तयारी, सहयोग संकलन लगायतका काम गरिने मूल समारोह समितिका महासचिव युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । सचिवालयबाट जनसम्पर्क बढाउने, मुल आयोजक समितिका लागि सदस्यता दिने पूर्व तयारी लगायतका काम गर्ने सुवेदीको भनाइ छ ।

बागलुङ नगरपालिका वडा नम्बर ४ निरयघाटमा निर्माण हुँदै गरेको मानवसेवा आश्रम बागलुङको भवन चैत्र मसान्त भित्र सम्पन्न गर्नका महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथा बाचन गर्नु हुने छ ।

दुई सय जना सहयोगापेक्षीलाई सेवा प्रदान गर्न सकिने भवन निर्माण सम्पन्न गर्न र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको हो । बागलुङसँगै पर्वत, म्याग्दी र मुस्ताङ जिल्लालाई समेटेर १ हजार ८ जनाको समिति विस्तार गरिने छ ।

साविक धौलागिरी अञ्चललाई कार्यक्षेत्र बनाएर बागलुङम केन्द्र बनाएको मानवसेवा आश्रम बागलुङ शाखामा हाल ६६ जना सहयोगापेक्षीले आश्रय लिएका छन् । उनीहरुको पालन पोषण तथा रेखदेखमा मासिक १० लाख भन्दा बढी खर्च हँदै आएको छ । स्वदेश तथा विदेशमा रहेका परोपकारी नेपालीका सहयोगबाट सञ्चालन हुँदै आएको मानवसेवा बागलुङको बानपा ४ निरयघाटमा भवन निर्माण भइरहेको छ ।

हालसम्म भवन निर्माणका लागि ५ करोड रुपैयाँ खर्च भइसकेको र निर्माण पूर्ण रुपमा सम्पन्न गर्नका लागि अझै ४ करोड रुपैयाँ लाग्ने भएकाले महायज्ञको आयोजना गरिएको यज्ञ मूल समारोह समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung