बागलुङ । बागलुङमा ४५ हजार ३९५ परिवार स्वास्थ्य बीमा कार्यक्रममा सुचिकृत भएका छन् । बागलुङमा प्रभावकारी बन्दै आएको स्वास्थ्य बीमा कार्यक्रममा यहाँका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असार देखि बागलुङमा लागु भइरहेको स्वास्थ्य बीमा कार्यक्रम बागलुङका गाउँ–गाउँमा पुगेपछि स्वास्थ्य बीमामा आबद्ध हुनेको संख्या क्रमश बढेको छ ।
गत वर्ष एक लाख २६ हजार बीमामा आवद्ध भएकोमा अहिले १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । ९ वर्ष अघि शुरु भएको स्वास्थ्य बीमामा आवद्ध हुनेको संख्यामा क्रमश वृद्धि भइरहेको छ । बागलुङमा प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको स्वास्थ्य बीमाले नागरिक प्रति आकर्षण बढाएको छ ।
जिल्लाको धौलागिरी अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु दिइरहेकाले स्वास्थ्य बीमामा आबद्ध हुनेको संख्या बढिरहेकोमा अहिले बडिगाड आधारभूत अस्पताल समेत प्रथम सेवा बिन्दुमा थएिको स्वास्थ्य बीमा बोर्ड बागलुङका संयोजक नारायण प्रसाद पौडेलले बताउनुभयो ।
पौडेलका अनुसार स्वास्थ्य बीमामा एक लाख ४१ हजार ५०९ जना आबद्धमध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । आबद्ध मध्ये ६६ हजार ८३९ महिला र ५९ हजार ५६० पुरुष रहेका छन् । “स्वास्थ्य बीमामा आबद्ध भएपछि निःशुल्क एक लाख सम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिकहरु बीमामा आबद्ध भएका छन्” पौडेलले भन्नुभयो “क्रमश स्वास्थ्य बीमा गराउनेको संख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन्, वर्षमा एक पटक प्रमियिम तिरेपछि वर्षभरी सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बीमा गर्न थालेका छन् ।”
२ लाख ४९ हजार २११ जनसंख्या रहेको बागलुङमा ५० प्रतिश भन्दा बढीले स्वास्थ्य बीमा गरिसकेका छन् । जनसंख्या धेरै भएपनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तिब्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बीमा गर्न थालेको पौडेलको भनाई छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि धौलागिरी अञ्चल अस्पतालमा बिरामीको संख्यामा तेब्बरले वृद्धि समेत भएको छ ।
पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु। तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाई बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यको वार्षिकरूपमा रु एक लाखसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ ।
बीमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्यचौकी जाने प्रचलनसमेत बढेको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदासाथ आम सर्वसाधरण जनता अनभिज्ञ भए बीमा कार्यक्रममा आबद्ध हुन नचाहेपनि पछिल्लो समय नागरिकहरु आफै अग्रसर भएर बीमा गर्न थालेको स्वास्थ्य बीमाको दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताउनुभयो ।













































































































































































































