बागलुङ । मानव सेवा आश्रमको भवन निर्माणका लागि महायज्ञको तयारी तिब्र पारिएको छ । कार्तिक २१ गतेदेखि २८ गते सम्म बागलुङको निरयघाटमा आयोजना हुन लागेको मानवसेवा आश्रम, बागलुङको भवन निर्माणार्थ आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै बागलुङमा सहयोग जुट्ने क्रम सुरु भएको छ ।
महायज्ञको मिति नजिकिँदै जाँदा दाताहरुले भवन निर्माणका लागि आर्थिक सहयोग गर्न थालेका छन् । आश्रमको भवन निर्माणका लागि हाल अमेरिका निवासी रेनुका अधिकारी, इन्द्रमणि अधिकारी र मनु अधिकारीले भवन निर्माणका लागि रु ५० हजार ५ सय ९८ सहयोग गर्नुभएको छ ।
सोही क्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आश्रम भवनको पूर्णताका लागि नगरपालिकाको तर्फबाट आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुका साथै आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
बागलुङ नगर उप–प्रमुख राजु खड्काले भने भवन निर्माणका लागि रु १ लाख १ सय ११ सहयोग गर्ने बताउनुभयो । त्यसैगरी नगरपालिका–८ का वडाध्यक्ष छमबहादुर कार्कीले एक महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ भने अन्य कार्यपालिका सदस्यहरूले आफ्नो १५ दिनको भत्ता सहयोगस्वरूप दिने घोषणा गरेका छन् ।
त्यस्तै, गलकोट नगरपालिका–१० निवासी समाजसेवी मानसिंह छन्त्यालले रु १ लाख ५ हजार ५ सय ५५ सहयोग गर्ने बताउनुभएको मानव सेवा आश्रमका अभिभावक सुमिरा लामाले जानकारी दिनुभयो । हाल बागलुङ नगरपालिका–३ लालीगुराँसचोकमा अवस्थित मानवसेवा आश्रम बागलुङ शाखामा हाल ३५ महिला र २९ पुरुष गरी ६४ जना आश्रित रहेका छन् ।
बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित यही कार्तिक २१ गतदेखि २८ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्ने कार्यक्रम तय गरिएको छ । महायज्ञको तयारी र प्रचारप्रसार तीव्र पारिएको मानसेवा आश्रमले जनाएको छ ।
महायज्ञलाई सफल बनाउन बागलुङ नगरपालिका–२ मा सचिवालय स्थापना गरिएको छ । सचिवालयबाट प्रचारप्रसार, जनसम्पर्क, सदस्यता वितरण र सहयोग संकलनका काम अघि बढाइएको छ । आश्रमले महायज्ञबारे जानकारी दिन जिल्ला समन्वय समितिको कार्यालय बागलुङ, पर्वत, म्याग्दी जिल्लामा स्नेहमिलन कार्यक्रम सम्पन्न गरिसकेको छ ।
मूल समारोह समितिका महासचिव युक्तप्रसाद सुवेदीका अनुसार सचिवालयले महायज्ञ तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखेको छ । दुई सय जना सहयोगापेक्षीलाई सेवा प्रदान गर्न सकिने भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो । मानवसेवा आश्रम बागलुङले साविक धौलागिरी अञ्चललाई कार्यक्षेत्र बनाएको छ ।
हाल आश्रममा ६४ जना सहयोगापेक्षीले आश्रय लिएका छन् । उनीहरूको पालनपोषण र रेखदेखमा मासिक १० लाख भन्दा बढी खर्च हुने गरेको छ । भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु ४ करोड आवश्यक रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ । महायज्ञमार्फत आवश्यक रकम संकलन गरेर भवन निर्माण र दीर्घकालीन व्यवस्थापनका लागि कोष सुदृढ बनाउने लक्ष्य लिइएको छ ।













































































































































































































