बागलुङ । मानवसेवा आश्रम बागलुङको नवनिर्मित भवनमा एक कोठा निर्माणको लागि कालिका भगवती गुठी बागलुङले रु ५ लाख ५५ हजार ५ सय ५५ सहयोग प्रदान गरेको छ ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन सहयोग हस्तान्तरण गरिएको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले नयाँविश्वलाई जानकारी दिनु भयो ।
आगामी पुस ११ गतेदेखि २१ गतेसम्म आयोजना हुन लागेको बागलुङ महोत्सवको सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रमलाई उक्त रकम सहयोग गरिएको कालिका भगवती गुठीका सचिव अर्जुन खड्काले बताउनुभयो ।
संघले सामाजिक, शैक्षिक, मानविय, धार्मिकलगाएतको क्षेत्रमा नियमित रुपमा सहयोग गर्दै आएको कालिका भगवती गुठीका कोषाध्यक्ष रामबहादुर खड्का रमेशले बताउनुभयो ।
साथै कालिका भगवती मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुले तिर्ने पार्किङ शुल्क पनि नियमित रुपमा मानवसेवा आश्रम बागलुङको संस्थागत विकास र दिगो सञ्चालनमा प्रदान गरिने बागलुङ कालिका भगवती गुठीका उपाध्यक्ष निशान खड्काले जानकारी दिनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा कालिका भगवती गुठीका सहसचिव ध्रुव खड्काको पनि उपस्थिति थियो ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि सुरु भएको महायज्ञ कार्तिक २९ गते समापन भएको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञको अन्तिम दिनसम्म रु ९ करोड ६९ लाख संकलन भएको महायज्ञका सचिव युक्त प्रसाद सुवेदीले बताउनुभयो । भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु ४ करोड आवश्यक रहेको आश्रमले जनाएको छ । महायज्ञमा भवन निर्माणको लागि लाग्ने रकम बाहेक अरु रकम कोषमा राख्ने आयोजकले जनाएको छ ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नुभएको थियो ।













































































































































































































