३ श्रावण २०८३, आईतवार

 

डिसिआरडिसीद्वारा महिलालाई प्रविधि विषयक तालिम प्रदान

बागलुङ । धौलागिरी सामुदायिक श्रोत विकास केन्द्रको आयोजनामा महिलाहरुको बिचमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर धौलागिरि सामुदायिक श्रोत विकास केन्द्रले धौलागिरि लघुवित्त वित्तिय संस्था लिमिटेड बागलुङ नगरपालिका ३ माझकोटका महिलाको बिचमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

‘प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ मंसिर ९ गते नोभेम्बर २५ देखि मंसिर २४ गते डिसेम्बर १० तारिकका दिनसम्म सञ्चालन भइरहेको अभियानको अवसरमा प्रविधिले महिलामा पारेको प्रभाव विषयमा अभिमुखीकरण गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्तले महिलामा प्रविधिले पारेको प्रभाव, यसको सहि सदुपयोग, लैङ्गिक हिंसा न्यूनिकरणका लागि प्रविधिको प्रयोग विषयमा सहजिकरण गर्नु भएको थियो ।

प्रविधिको प्रयोग गर्न नजान्दा पछिल्लो समय हिंसाका नयाँ नयाँ घटनाहरु सार्वजनिक हुन थालेको भन्दै उहाँले महिलाहरुमा मानसिक तनाव, ईष्र्या, सम्बन्धमा खटपट, गलत मानसिकताको विकाससँगै गोपनियताको समेत जोखिम भएको बताउनु भएको थियो ।

पन्तले नयाँ नयाँ प्रविधि विकास भएपनि त्यसको मालिक व्यक्ति भएको भन्दै प्रविधिले व्यक्तिलाई नभएर, व्यक्तिले प्रविधिलाई चलाउनु पर्ने बताउनु भएको थियो । उहाँले प्रविधिको गलत प्रयोगले व्यक्तिलाई बाँध्ने र सहि प्रयोगले आत्मनिर्भर र स्वावलम्बी बनाउने बताउनु भयो ।

कार्यक्रममा डिसिआरडिसी बागलुङका अध्यक्ष सिर्जना थापाले हिंसा गर्नु जस्तै सहनु पनि अपराध भएको भन्दै हिंसा नगर्ने र नसहने कुरामा प्रतिवद्ध रहनु पर्ने बताउनु भएको थियो । उहाँले महिलाई आत्मनिर्भर बनाउँन, स्वस्थ र सचेत बनाउन डिसिआरडिसीले विभिन्न कार्यक्रम गर्दै आएको भन्दै आगामी दिनमा समेत कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको थियो ।

कार्यक्रम केन्द्र प्रमुख विमला चर्मकारको अध्यक्षता, शाखा प्रमुख इन्दु परियारको सञ्चालन र निर्मला श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung