बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाका तीन प्रयोगशाला एकैसाथ प्रयोगविहीन बनेका छन् । गाउँपालिकाले नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्थापना गरेका प्रयोगशाला साउन यता जनशक्ति अभावमा सञ्चालनमा आउन सकेका छैनन् ।
गाउँपालिकाले हिल, अर्गल र अमरभूमि स्वास्थ्यचौकीमा स्थापना गरेको प्रयोगशालामा प्रयोगशाला सहायक कर्मचारी नियुक्ती गर्न नसक्दा सञ्चालनमा आउन नसकेको गाउँपालिकाले जनाएको छ ।
चार वर्षदेखि सञ्चालमा आएका तीन प्रयोशालाका लागि आवश्यक उपकरण भएपनि जनशक्ति नियुक्त गर्न गाउँपालिकाले नसक्दा नागरिलाई सेवा दिन नसक्दा सास्ती खेप्नु परेको छ । स्वास्थ्य चौकीमै प्रयोगशाला स्थापना हुँदा रगत, दिसा र पिसाव परिक्षण गर्दा रोगको पहिचान र निदानमा सहयोग पुग्ने गरेको भएपनि साउन यता प्रयोगशाला सञ्चालनमा आउन नसक्दा सेवा प्रभावित बनेको ताराखोला गाउँपालिका–३ हिल स्वास्थ्य चौकीका अनमी कोपिला विकले जानकारी दिनुभयो ।
उहाँले जनशक्ति अभावमा प्रयोगशाला सेवा र भिडियो एक्सरे सेवा दिन नसक्दा बिरामी रिफर गरेर गलकोट नगर अस्पताल पु¥याउनुपर्ने अवस्था आएको बताउनुभयो ।
आकश्मिक सेवाका लागि प्रयोशालामा परिक्षण गर्नका लागि ताराखोला स्वास्थ्य चौकीबाट ल्याव असिस्टेन्ट बोलाएर परिक्षण गर्ने गरेको बिकले बताउनुभयो ।
यस्तै तालिम प्राप्त जनशक्ति सरुवा भएपछि गर्भवतीका लागि गरिने भिडियो एक्सरे सेवा समेत हिल स्वास्थ्य चौकीले प्रदान गर्न नसकेको हो । हिल स्वास्थ्य चौकीमा गत वर्ष ७०० बिरामीले सेवा लिएका थिए भने ११ जना संस्थागत सुत्केरी भएका थिए । चालु आर्थिक वर्षमा समेत ५ जना संस्थागत सुत्केरी भइसकेका छन् ।
“गाउँपालिकाले ल्याव असिस्टेन पठाउन नसक्दा प्रयोशाला सेवा ठप्प भएपछि बिरामीलाई रिफर गर्नुपर्ने अवस्था छ” अनमी बिकले भन्नुभयो “सक्दो सेवा दिइरहेको भएपनि रोग पहिचान गर्न प्रयोगशाला आवश्यक हुन्छ, प्रयोगशाला र उपकरण भएपनि प्राविधिक जनशक्ती नहुँदा समस्या भएको छ, गाउँपालिकालाई प्रयोगशाला सहायक कर्मचारी पठाउन आग्रह गरिएको छ ।”
हिलसँगै अर्गल र अमरभूमी स्वास्थ्य चौकीमा समेत स्थापना गरेका प्रयोगशाला कर्मचारी अभावमा सञ्चालनमा आउन सकेको छैन । गाउँपालिका भरमा पाँच नम्बर वडाको ताराखोला स्वास्थ्य चौकीमा मात्रै प्रयोशाला सञ्चालनमा आएको ताराखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उदित थापाले जानकारी दिनुभयो । गाउँपालिकाले साउन यता प्राविधिक जनशक्ति नियुक्ती गर्न नसक्दा गाउँपालिका भर रहेका चार प्रयोगशाला मध्ये तीन वटा प्रयोगशाला ठप्प भएको र ताराखोला स्वास्थ्य चौकीको प्रयोशाला मात्रै सञ्चालनमा आएको जानकारी दिनुभयो ।
गाउँपालिकाले स्वास्थ्य चौकीबाट अतिरिक्त स्वास्थ्य सेवा विस्तार गर्नका लागि प्रयोगशाला स्थापना गरेपनि महालेखाले स्रोत तथा संगठन व्यवस्थापनको मुल्याङ्कन नगरी प्रयोगशाला सहायक कर्मचारी राखेको भन्दै करारमा नराख्न भनेपछि समस्या भएको थापाको भनाई छ । गाउँपालिकालाई कानुन निर्माण गरी स्वास्थ्य चौकीमा प्रयोशाला स्थापनाका लागि स्रोत तथा व्यवस्थापन मुल्याङकन गरेर मात्रै प्रयोगशाला सञ्चालनमा ल्याउन सुझाव आएपछि कर्मचारी नियुक्ती गर्न नसकिएको थापाको भनाई छ ।
गाउँपालिका भर एउटा मात्रै प्रयोगशाला सञ्चालनमा आउदा दुर्गम गाउँमा नागरिकलाई सास्ती भएको बताउनुभयो । उहाँले जिल्लाका अन्य स्थानीय तहमा पालिका स्तरीय आधारभूत अस्पताल भएपनि ताराखोलामा आधारभूत अस्पताल समेत नभएको र स्वास्थ्यचौकीले समेत विस्तार गरेको सेवाले निरन्तरता पाउन नसकेको स्विकार गर्नुभयो ।













































































































































































































