बागलुङ । बागलुङ महोत्सवको अवसरमा हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन गराइने भएको छ ।यही पौष ११ गते देखि सुरु हुने आठौँ बागलुङ महोत्सवमा धार्मिक तथा पर्यटकीय क्षेत्र पञ्चकोट, भकुण्डे, भैरवस्थान तथा पर्वतको कुश्मा लगायतको स्थानमा हेलि टुरको व्यवस्था गर्न थालिएको हो ।
गण्डकी प्रदेश अन्तर्गत विशेष गरि धौलागिरी क्षेत्रमा रहेका पर्यटकिय क्षेत्र र धार्मिक सम्पदाको प्रचार प्रसार र प्रबर्द्धनका लागि हेलिकप्टरबाट दृश्यावलोकनको व्यवस्था गरिएको बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।
आफ्ना अभिभावक माता पितालाई हवाई यात्राको अनुभव गराउन तथा कुनै विशेष धार्मिक स्थलमा लैजाने मन भएकाहरुलाई यो अवसरमा भएको कँडेलले बताउनु भयो ।बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा ११ गतेदेखि बाङ्गेचौर खेल मैदानमा महोत्सव हुँदै छ ।
व्यापार, कृषि, उद्योग, पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सङ्घले महोत्सव आयोजना गर्दै आएको छ ।
महोत्सवलाई थप आकर्षण बनाउन र हेलिकोप्टर मार्फत महोत्सव स्थल तथा जिल्लाका पर्यटकीय गन्तव्यको दृश्यअवलोकन गर्न यसलाई मुख्य आकर्षणको रुपमा राखिएको सङ्घका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिनुभयो ।
महोत्सवको अवसरमा न्युनतम ७ मिनेटको र प्रतिव्यक्ति ९ हजार र अधिकतम १२ मिनेटको १५ हजार शुल्क निर्धारण गरिएको व्यवसायी अनोद श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवको अवसरमा म्याग्दीको नर्थ एविसि जान चहनेहरुको लागि प्रति व्यक्ति ३० हजारमा दृश्यावलोकन गराइने र त्यसको लागि टिकट बुकिङ खुल्ला गरिएको हेली संयोजक खगेश्वर पौडेलले जानकारी दिनु भयो ।
टिकट बुकिङ गर्न चाहानेले ९८५७६२१५८३ मा सम्पर्क गरि नाम दर्ता गर्न मिल्ले व्यवस्था गरिएको छ ।महोत्सवको तयारी तीब्र ढंगले अगाडि बढ्को र मुख्य र सहायक प्रायोजकको पनि टुंगो लागेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले बताउनुभयो ।
महोत्सवको मुख्य प्रायोजकमा ग्लोबल आइएमई ग्रुप र सहायक प्रायोजकमा प्रभु बैंक लिमिटेड रहेको संघले जनाएको छ ।













































































































































































































