३ श्रावण २०८३, आईतवार

 

बागलुङ महोत्सवको मुख्य प्रायोजक आइएमई समूह, सह-प्रायोजक प्रभु बैंक

बागलुङ । कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन नाराका साथ पुष ११ गतेदेखि हुन लागेको गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला एवम् बागलुङ महोत्सवको मुख्य प्रायोजन आइएमई समूहले गर्ने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्र प्रसाद ढकालको गृहजिल्ला बागलुङमा हुन लागेकोले महोत्सवको मुख्य प्रायोजन आइएमई समूहले गरेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिनुभयो ।

‘जिल्लामा हुने आर्थिक र सामाजिक विकास कार्यमा आफ्नो सधैं साथ र सहयोग रहने’  ढकालले बताउनुभयो । उहाँले महोत्सव सफलताको शुभकामनासमेत व्यक्त गर्नु भएको छ ।

साथै ‘महोत्सवमा सहप्रोजकमा प्रभु बैंक लिमिटेड रहेको छ । महोत्सवको अन्य प्रायोजकहरुमा नेपाल टेलिकम, गोर्खा ब्रुअरी, खुकुरी रम, रेड बुल, सन लाइफ इन्स्योरेन्स, गज्जबको पिरो चाउचाउ, हेरिटेज कार्पेट, मायालु ग्रुप, शिवम प्लाष्टिक, डल्फिन कुर्ची, ग्रेस इन्टरनेशनल, बिएसआर मुभिज र सृष्टि फर्निचर रहेको’ निर्वतमान अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।

‘महोत्सवले जिल्लाका पर्यटकीय गन्तव्यको प्रचार प्रसार, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने’ बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषि गौतमले बताउनुभयो । यस वर्षको महोत्सवमा करिब २० करोड मूल्यबराबरको व्यापार–व्यवसाय गर्ने लक्ष्य राखिएको छ ।

‘बागलुङ महोत्सवलाई भव्यता पूर्वक सफल बनाउँन नेपाल उद्योग वाणिज्य महासंघले सरोकारवालाहरुसँग प्रदेश, जिल्ला, नगर संघहरुसँग सहकार्य र समन्वय गर्ने’ नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य युवराज राजभण्डारीले नयाँ विश्वलाई बताउनुभयो ।

‘महोत्सवमा अंग्रेजी वर्षको जनवरी महिनामा परेको छ । पौष १६ गते राति नयाँ वर्षको दिनमा विशेष सांगीतिक कार्यक्रम हुने भएकोले बागलुङमा आन्तरिक र बाह्रय पर्यटकको आगमन र बसाई लब्याउन सहयोग पुग्ने र बागलुङ बजारको व्यापार पनि बढ्ने’ संघका महासचिव ईन्द्रमणि पौडेल अर्जुनले बताउनुभयो ।

महासचिव पौडेलले भन्नुभयो,‘महोत्सवमा जम्मा २ सय २० वटा स्टल हुने भएको छ । साथै जिल्लाका कृषि तथा घरेलु उत्पादनहरूलाई प्रवर्द्धनात्मक गर्न २० वटा स्टल छुट्टाइएको छ। यस्तै जिल्लामै उत्पादन भइरहेका ब्राण्डहरूलाई मेडइन बागलुङ नाममा ५ वटा स्टल छुट्याएर प्रवर्द्धन र बिक्री गर्ने व्यवस्था मिलाएको छौं।’

महोत्सव नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आएमई समूहका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा हुन लागेको संघका विशिष्ठ सदस्य संजय श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung