३ श्रावण २०८३, आईतवार

 

ढोरपाटनका महिलालाई सिलाई बुनाई तालिम

बागलुङ । दीगो पर्यटन परियोजना अन्तर्गत ढोरपाटनाका १५ महिलालाई सिलाई बुनाई तालिम प्रदान गरिइको छ । युएनडिपी र नेपाल पर्यटन बोर्डको आर्थिक तथा प्राविधिक सहयोगमा ढोरपाटन नगरपालिकाको समन्वयमा, स्थानीय साझेदार संस्था वीवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित दीगो पर्यटन परियोजना अन्तर्गत ढोरपाटन क्षेत्रका महिलाहरूको वृद्धि विकास गर्ने उद्देश्यले तालिम सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिकाका–९ को सभाहलमा सञ्चालन गरिएको १५ दिने तालिममा सामान्य तान बुन्ने आधारभूत ज्ञानदेखि पञ्जा, मोजा, टोपी, गलबन्दी, स्वीटर र पछ्यौरी जस्ता विभिन्न हातले बुन्ने सामग्रीहरू बनाउन सिकाइएको थियो । तालिमको सहजीकरण पूर्वी रुकुम भूमे गाउँपालिका निवासी कामिनी बुढा मगरले गर्नुभएको थियो ।

तालिममा स्थानीय पुवा तथा अल्लोको धागो, सिस्नुको धागो, भेडाको उन लगायतबाट हस्तकलाका सामाग्री बनाउन सिकाइएको थियो । ढोरपाटन नगरपालिका पर्यटकीय क्षेत्र भएकाले यहाँका महिलाहरुले पर्यटकलाई जाडोमा प्रयोग गरिने उनका कपडाका सामाग्री बनाउन सिकेर आत्मनिर्भर गराउने काम थालिएको दीगो पर्यटन परियोजनाको फोकल पर्सन विमल शर्माले जानकारी दिनुभयो ।

स्थानीय सामग्रीहरूको प्रयोग गरी विभिन्न खालका मायाको चिनो बनाई कोसेली जस्ता सामग्रीहरू निर्माण गरि बजारिकरण गर्ने मुख्य उद्देश्यले तालिम दिइएको शर्माले जानकारी दिनुभयो । तालिममा स्थानीय महिला अध्यक्ष इन्द्रकुमारी पुन मगरले सिप सिकेर खेर गएका स्थानीय वस्तुको प्रयोग गरि हस्तकलाको प्रयोगबाट कपडाका सामाग्री बनाउन जानेको बताउनुभयो ।

उहाँले अबका दिनमा नयाँ उपकरण तथा औजारहरू आवश्यक रहेको बताउदै हस्तकला उद्योगका रुपमा सिपलाई विकास गर्ने उदेश्य रहेको बताउनुभयो । विकट गाउँका महिलाहरुले पर्यटकलाई हस्तकालाका सामाग्री विक्री गरेर आय आर्जनमा सघाउने कार्यवाहक वडाअध्यक्ष नर्मति पुनले बताउनुभयो । उहाँले तालिमले स्थानीय महिलाहरूको क्षमता अभिवृद्धि गर्ने रोजगारी सिर्जना गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung