३ श्रावण २०८३, आईतवार

 

जेनजी आन्दोलनदेखि बालेन–रवि-कुलमानबिच सहकार्य : अर्थतन्त्र र पुँजी बजारको चासो

नेपालको समकालिन राजनीतिमा देखिएको जेनजी आन्दोलन केवल पुस्तागत असन्तुष्टिको अभिव्यक्ति मात्र थिएन, यो त राज्य सञ्चालन, नीति निर्माण र आर्थिक संरचनामाथि उठेको गहिरो प्रश्नको परिणाम थियो।

लामो समयदेखि दोहोरिँदै आएका राजनीतिक नेतृत्व, कमजोर सुशासन, बेरोजगारी, अवसरको असमान वितरण र शक्ति–पुँजीको साँठगाँठले युवा पुस्तामा व्यापक निराशा जन्माएको थियो। यही निराशा जेनजी आन्दोलनका रूपमा सडक, सामाजिक सञ्जाल र सार्वजनिक बहसमा विस्फोट भएको देखिन्छ।

यो आन्दोलनले पुरानो शक्ति संरचना र निर्णय प्रक्रियालाई चुनौती दिएको छ। स्थापित दल र नेताहरूको वैधतामाथि प्रश्न उठ्दै गर्दा, यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा मनोवैज्ञानिक रूपमा देखिएको छ।

एकातर्फ भ्रष्टाचार नियन्त्रण, कर सुधार र नीतिगत पारदर्शिताको दबाबले दिर्घकालिन सुधारको आशा जगाएको छ भने अर्कोतर्फ, उग्र अभिव्यक्ति, नीतिगत अस्पष्टता र राजनीतिक अनिश्चितताले लगानीकर्तामा भय र प्रतिक्षाको अवस्था सिर्जना गरेको छ। अर्थतन्त्र जति तथ्य र संरचनामा आधारित हुन्छ, त्यति नै विश्वास र स्थिरतामा पनि निर्भर हुन्छ भन्ने यथार्थ यही प्रकट हुन्छ।

जेनजी आन्दोलनको एक प्रमुख बहस नीति–व्यापारिक घराना र जसले रोजगारी को सिर्जना गर्दै राज्यमा कर गरेको छ तै वरिपरि केन्द्रित भएको देखिन्छ। कर छली, नीतिगत पहुँच र आर्थिक असमानतामाथि प्रश्न उठाउनु लोकतान्त्रिक अधिकार हो।

तर उत्पादन, रोजगारी र राजस्वमा महत्वपूर्ण योगदान गर्ने निजी क्षेत्रलाई एउटै ढाँचामा ‘शोषक’ का रूपमा चित्रण गर्ने प्रवृत्तिले सन्तुलन गुमाउने खतरा देखिन्छ। कर प्रणाली सुधार आवश्यक छ तर कर तिर्ने संस्कृतिलाई नै हतोत्साहित गर्ने भाष्यले दीर्घकालमा राज्यकै आम्दानी कमजोर बनाउँछ। यही कारण निजी क्षेत्र र सरकारबीचको विश्वास तथा सो समधुर सम्बन्ध जेनजी आन्दोलनपछिको सबैभन्दा संवेदनशील मुद्दा बनेको छ।

यसको प्रभाव पुँजी बजारमा झनै छिटो देखियो। सेयर बजार केवल कम्पनीको नाफा–घाटाको प्रतिबिम्ब होइन, यो भविष्यप्रतिको अपेक्षा र राजनीतिक स्थिरताको सूचक हो। राजनीतिक नेतृत्वबाट आउने प्रत्येक सन्देश, आन्दोलनको स्वरूप र नीतिगत संकेतले बजारको मनोविज्ञानलाई असर गर्छ।

जेनजी आन्दोलनका दौरान र त्यसपछि देखिएको बजारको उतार–चढावले लगानीकर्ताले सुधारको सम्भावना र जोखिमलाई एकसाथ तौलिरहेको देखाउँछ। स्पष्ट नीति, स्थिर सरकार र बजारमैत्री संकेत आए बजारले सकारात्मक प्रतिक्रिया दिन सक्छ तर भावनात्मक राजनीति हाबी रहँदा पुँजी सुरक्षित स्थान खोज्न थाल्छ।

यही पृष्ठभूमिमा बालेन साह, रवि लामिछाने र कुलमान घिसिङ भएको सहकार्यको संकेतलाई गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने हुन्छ

। बालेन साह जेनजी आन्दोलनको प्रतिकात्मक अनुहारका रूपमा उभिए—संस्थाबाहिरबाट प्रणालीमाथि प्रश्न उठाउने, विद्रोही शैली र तीखा अभिव्यक्तिका माध्यमबाट भने अर्कोतर्फ, रवि लामिछाने र उनको पार्टी संस्थागत राजनीतिभित्र प्रवेश गरेर निर्वाचन, संसद र संगठनमार्फत परिवर्तन खोज्ने धारको प्रतिनिधित्व गर्छन्।

साथै यसैबिच कुलमान घिसिङबिचको सहकार्य र यी तीन धारको मिलनलाई धेरैले आन्दोलन र संस्थागत राजनीतिबिचको पुलका रूपमा हेरेका छन्।

यो सहकार्यले नयाँ राजनीतिक ध्रुव निर्माण गर्न सक्छ, जसले युवामतदाता, शहरी मध्यम वर्ग र परम्परागत दलबाट निराश समूहलाई आकर्षित गर्ने सम्भावना उच्च छ। तर यहाँ चुनौती पनि उत्तिकै गहिरो छ।

बालेनको उग्र प्रतीकात्मक राजनीतिक सैली र रविको आक्रामक संगठनात्मक शैली यदि संयम र स्पष्ट नीतिमा रूपान्तरण भएन भने, यो सहकार्य अवसरभन्दा जोखिममा बदलिन सक्छ। विशेषगरी विदेशी लगानी, आर्थिक कूटनीति, निजी क्षेत्रसँगको सम्बन्ध र पुँजी बजारप्रतिको दृष्टिकोणबारे स्पष्टता नआएसम्म आशंका कायम रहन्छ।

विदेशी लगानी र अन्तर्राष्ट्रिय बजार आजको अर्थतन्त्रका अनिवार्य अंग हुन्। राष्ट्रवाद र आत्मनिर्भरता आवश्यक भए पनि, कूटनीतिक सन्तुलन र लगानीमैत्री वातावरण बिना आर्थिक वृद्धि सम्भव हुँदैन।

विगतका कडा अभिव्यक्ति र अराजक प्रतीकले छोटो समय लोकप्रियता दिलाउन सक्छ, तर यसले दीर्घकालीन आर्थिक हितमा प्रश्न उठाउँछ। यही कारण बालेन–रवि सहकार्यले भावनात्मक नाराभन्दा नीतिगत स्पष्टता प्रस्तुत गर्नुपर्ने आवश्यकता झन् बढेको छ।

आगामी निर्वाचनमा यो सहकार्यको प्रभाव उल्लेखनीय हुन सक्छ। मतको अंकगणितले उनीहरूलाई बलियो बनाउने सम्भावना छ, तर शासन गर्ने क्षमताको परीक्षा निर्वाचनपछि सुरु हुन्छ।

इतिहासले देखाएको छ—आन्दोलनबाट जन्मिएका राजनीतिक शक्तिहरू नीति, संयम र संस्थागत क्षमतामा रूपान्तरण हुन नसके छिट्टै कमजोर हुन्छन्। जेनजी आन्दोलन पनि यही मोडमा उभिएको छ।

अन्तमा, जेन्जी आन्दोलनदेखि बालेन–रवि कुलमानबिच सहकार्यसम्मको यात्रा नेपालको राजनीतिमा एक निर्णायक चरण हो। यो न पूर्ण रूपमा अवसर हो, नत पूर्ण रूपमा खतरा नै।

यदि आक्रोशलाई नीति, प्रतिकलाई संरचना र आन्दोलनलाई संस्थागत सुधारमा रूपान्तरण गर्न सकियो भने, यसले सामाजिक सद्भाब,अर्थतन्त्र र पुँजी बजारलाई स्थायित्व, विश्वास र दीर्घकालीन दिशानिर्देश दिन कोसेढुङ्गा साबित हुनेछ।

तर सन्तुलन गुमेमा, यही ऊर्जा अनिश्चितता र जोखिमको स्रोत पनि बन्न सक्ने सम्भावना पनि उत्तिकै बलियो देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung