बागलुङ । आठौं बागलुङ महोत्सव मङ्गलबार सकिएको छ । १२ दिनसम्म चलेको महोत्सवमा करिब रु आठ करोडको कारोबार भएको आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । करिब चार लाख दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकको दाबी छ ।
कला, संस्कृतिको संरक्षण, पर्यटन, कृषि, उद्योग तथा व्यापारको प्रवद्र्धनमा महोत्सवले टेवा पु¥याएको जनाइएको छ । महोत्सवमा झण्डै दुई सय व्यावसायिक स्टल रहेका थिए । विभिन्न प्रतियोगितात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रमले महोत्सवमा आकर्षण बढाएको थियो ।
यही पुस ११ गतदेखि सुरु भएको महोत्सवमा राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरुले प्रस्तुति दिएका थिए । महोत्सवमा पुरूष तथा महिला भलिबल, खुला राष्ट्रिय दोहोरीगीत प्रतियोगिता, पञ्चेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भोले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैंटौफोर, तारो हान्नेलगायत विविध खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् ।
महोत्सवमा साँस्कृतिक झाँकी, स्थानीय खाना प्रवद्र्धन, सुन्तला, माछाको प्रदर्शनी, हस्तकला, कृषि तथा पशु, औद्योगिक उत्पादन, स्थानीय जटिबुटी, सूचना प्रविधि आदिको प्रदर्शनी तथा बिक्रीकक्ष राखिएको थियो ।
महोत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रम र नेपाल पत्रकार महासङ्घ, बागलुङलाई आर्थिक सहयोग गरिएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले बताए । महोत्सवबाट बचेको रकम व्यावसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोशेली घर सञ्चालन आदिमा खर्च गरिने उनको भनाइ छ ।
महोत्सव समापनका अवसरमा महोत्सवका सह–आयोजकहरुदेखि प्रायोजन विभिन्न सङ्घसंस्था, व्यापारिक प्रतिष्ठानलगायतलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठलगायतले सम्मान–पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य युवराज राजभण्डारी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमको धन्यवाद मन्तव्य, महासचिव इन्द्रमणी पौडेल अर्जुन र प्रेस सल्लाहकार सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

खोजीनितीबाट













































































































































































































