बागलुङ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा एकदिने तालिम कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले मासिक योजना ‘मन्थन–२०८२’ अन्तर्गत तोकिएको व्यवसाय पूरा गरी छनौट भएका १८५ जना अभिकर्तालाई तालिम प्रदान गरेको हो।
गण्डकी प्रदेशका सबै शाखा कार्यालय तथा लुम्बिनी र बागमती प्रदेशका केही शाखा कार्यालयमा आबद्ध अभिकर्ताहरूका लागि पोखरा स्थित होटल मेजेष्टिक लेक फ्रन्ट मा आयोजना गरिएको तालिम बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम राजाले सञ्चालन गरेका थिए।
तालिमका क्रममा उनले एमडीआरटी, सिओटी र टिओटी लक्ष्य हासिल गर्न अपनाउन सकिने रणनीति, फरक सोच र प्रतिस्पर्धात्मक बजारमा प्रभावकारी प्रस्तुति दिने सीपबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रममा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कंडेल ले यस्ता तालिमले अभिकर्ताहरूको मनोबल वृद्धि भई व्यवसायिक लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने बताए। उनले ‘प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता’ भन्ने नारासहित मासिक योजना मन्थन सञ्चालन गरिएको र यस योजनाअन्तर्गत देशभरबाट छनौट भएका ७०० भन्दा बढी अभिकर्तालाई पायक पर्ने विभिन्न स्थानमा तालिम कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
सो अवसरमा शाखास्तरीय प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो। एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणाले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारी प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल सावित गर्ने अपेक्षा व्यक्त गरे।
त्यस्तै, पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गरेकी थिइन्। तालिममा सहभागी अभिकर्ताहरूले यस्ता व्यवसायिक तालिमले आफ्नो आत्मविश्वास र मनोबल उच्च बनाएको बताउँदै आगामी दिनमा बीमा व्यवसायमा थप प्रगति गर्ने प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्। सम्मान र पहिचानले आफ्नो मेहनतको कदर भएको अनुभूति भएको उनीहरूको भनाइ छ।













































































































































































































