४ श्रावण २०८३, सोमबार

 

चित्रबहादुरको गृह जिल्लामै कृष्ण अधिकारीको जमानत जफत

बागलुङ । बागलुङलाई कम्युनिष्टको किल्ला मानिन्थ्यो । नेकपा मसाल, नेकपा, नेकपा एमालेको ठूलो संगठन भएको आधारलाई निर्वाचन जित्ने आधार बनाइएको थियो । तर यसपालिको निर्वाचनले त्यो सबै कथालाई विघटन गरि दिएको छ ।

राजमो र नेकपाले बागलुङका क्षेत्र नं १ र २ मा चुनावी तालमेल गरेर क्षेत्र नं १ मा राजमोका उम्मेदवार कृष्ण अधिकारीलाई नेपाल कम्युनिस्ट पार्टीले सघाउने र क्षेत्र नम्बर २ मा नेकपाका ज्ञामनाथ गैरेलाई राजमोले सघाउने निर्णय समेत भएको थियो ।

राष्ट्रिय जनमोर्चाको किल्लाको रुपमा रहेको र चित्रबहादुरको विरासत बोकेको बागलुङ क्षेत्र नंम्बर १ मा राजमो र नेकपाका साझा उम्मेदवार कृष्ण अधिकारी चौथौं मात्र भएनन् उनको जमानत पनि जफत भएको छ ।

विद्यार्थी आन्दोलन र गणतन्त्रको लागि गरेका संघर्षको छवि बनाएका अधिकारीले अपेक्षा अनुसार मत ल्याउन सकेनन् । राजमो र नेकपाका शीर्ष नेताहरु दिनानाथ शर्मा, अमर थापा, राजेन्द्र ढुंगाना, बलावती शर्मा, कृष्ण केसी, तिलक केसीलगाएतका नेताहरुले हाकेको चुनावले कुनै चमत्कार गर्न सकेन् ।

१६५ निर्वाचन क्षेत्रमध्ये बागलुङ १ र २ मा नेकपासँग चुनावी तालमेल गरेका राजमोका उम्मेदवार अधिकारीले जमानत जोगाएनन् उनको हैसियत चौथों स्थानमा सिमित भएको छ ।

कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था अनुसार बागलुङमा सदर भएको ४७ हजार ६१ मतमा अधिकारीले जमानत जोगाउन चार हजार ७०६ मत ल्याउनु पर्ने थियो जुन मतपेटिकामा थिएन। राजमोका अधिकारी लगायत अन्य ८ जनाले जमानत जोगाउन सकेनन्

।अधिकारीको मत चार हजार ५२१ मत मात्रै प्राप्त गर्नु भएको सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

यस क्षेत्रमा रास्वपाका सुशिल खड्काले २० हजार ९२७ मत ल्याएर विजयी हुनुभएको थियो भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीमबहादुर श्रीसले ११ हजार ९४४ र एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० मत प्राप्त गर्नुभएको थियो ।

जनमात जफत प्रावधान अनुसार विजयी रास्वपाका खड्का, कांग्रेसका श्रीस राना र तेस्रो भएका खत्रीको मात्रै जमानत जोगिएको छ ।

राप्रपाका कल्याण आचार्यले ५२३ मत, हर्क राईको श्रम संस्कृति पार्टीका लालबहादुर घर्तिले २५४ मत, प्रलोपाका चित्र सापकोटाले ६० मत, मंगोल नेशनल अर्गनाइजेशनका गुमा कुमारी रानाले ४० मत, नेपाली कम्युनिष्ट पार्टी ९माओवादी०का टेक बहादुर केसीको ८० मत, यस क्षेत्रमा सबैभन्दा कम नेपाल मानवतावादी पार्टीका भक्तबहादुर बिकले २४ मतमात्रै ल्याउनुभएको थियो ।

प्रलोपाका सापकोटाले अन्तिम समयमा उम्मेदवारी निष्क्रिय पार्नु भएको थियो । यद्यपी ६० मत परेको छ ।

यस निर्वाचन क्षेत्रमा ९८ हजार ४६ मतदाता रहेकोमा ४८ हजार ९३२ मत खसेको थियो । त्यसमा १८७१ मत बदर भएको थिए ।

उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा निर्वाचन आयोगको नियम अनुसार राखेको दश हजार धरौती कुल सदर मतको दश प्रतिशत मत ल्याएन नसक्ने उम्मेदवारको हकमा जमानत जफत हुने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung