३ श्रावण २०८३, आईतवार

 

नयाँ सरकार गठनको बाटो खुला, अब कति दिन लाग्ला ?

बागलुङ । गत २१ फागुनमा सम्पन्न  प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालय पुगेसँगै अब नयाँ सरकार गठनको बाटो खुला भएको छ ।

देभभरीका मतदाताहरुको व्यग्र प्रतिक्षा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेनको नेतृत्वमा नयाँ सरकार निर्माणको लागि अब प्रक्रिया अगाडि बढे्को छ ।

२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फ सबै नतिजा आएको र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ को व्यवस्था अनुसार नतिजा घोषणा भएको एक साताभित्र प्रतिवेदन राष्ट्रपति कार्यालय बुझाएकोले नयाँ सरकारले आकार लिन लागेको हो ।

बिहीबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरुले राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन अध्ययनपछि राष्ट्रपति पौडेलले प्रक्रिया अघि बढाउनेछ र सबैभन्दा पहिले निर्वाचित सांसदहरूको शपथको कार्यक्रम अगाडि बढ्ने छ ।

यही चैत १२ गते बिहान साढे ११ बजे निर्वाचित सांसद मध्ये ज्येष्ठ सदस्यले अरु सांसदहरुलाई शपथ गराउने कार्यक्रम तय भएको छ । निर्वाचनको कानुनी प्रकृया अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतको नयाँ सरकार चैतको दोस्रो सातासम्म बन्न सक्ने अनुमान गर्न सकिन्छ।

रास्वपाले १८२ सिट हात पारेर संसदको सबैभन्दा ठुलो दलको रुपमा उदाएको छ । कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले तेस्रो, १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी चौथो दल, श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौं दल र राप्रपा ५ सिटसहित छैठौं दलको रुपमा रहेको छ । साथै एक जना स्वतन्त्र सांसद रहेका छन् ।

यस पटक रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपासहित ६ वटा दलले मात्र तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा नयाँ सरकार बनाउनका लागि १३८ जना सांसदको समर्थन चाहिने कानुनी व्यवस्था रहेको छ । संविधानको धारा ७६ मा सरकार गठन सम्बन्धी व्यवस्था छ ।

निर्वाचन आयोगको कार्यतालिका र संवैधानिक प्रक्रिया अनुसार चैत दोस्रो सप्ताहको आसपास मात्रै नयाँ प्रधानमन्त्री नियुक्त हुने छ ।आयोगले प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै रास्वपाको नयाँ सरकार गठन तथा निर्वाचित सांसदको शपथलगायतको संवैधानिक प्रक्रिया सुरु हुने छ ।

शपथ लिएपछि दलको नेता चयन गर्ने तयारी सुरु हुनेछ ।साथै बहुमत प्राप्त वा ठूला दलले संविधान र राजनीतिक दल सम्बन्धी ऐन अनुसार आफ्नो संसदीय दलको नेता चुन्नुपर्ने छ, दलको यो आन्तरिक प्रक्रिया समाप्त भएपछि मात्रै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रकृया अगाडि बढाउने छ ।

बहुमत प्राप्त दलका संसदीय दलका नेता प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था रहेको छ ।निर्वाचनबाट स्पष्ट बहुमत पाएको रास्वपालाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(१) बमोजिम सरकार गठनका लागि आह्वान गर्नेछन् ।

दलहरुभित्रका कानुनी र संवैधानिक प्रक्रियाहरू पूरा गरी संभवत चैतको दोस्रो सातासम्म मुलुकले नयाँ सरकार पाउनेछ ।

संविधानको धारा ९३ अनुसार सरकार गठनसँगै राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ । राष्ट्रपति कार्यालयले भने चैत १६ गते संघीय संसद्को अधिवेशन आह्वान गर्ने तयारी थालेको छ ।

यस पटक चुनावी नतिजाले रास्वपालाई बहुमतको एकलौटी सरकार बनाउन सक्नेगरी मत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung