बागलुङ । मंगलबारदेखि सुरु हुने ऐतिहासिक चैत्राष्टमी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।
महोत्सवस्थलमा स्टल निर्माणको कामदेखि रमाइलो मेलालगायतका सबै तयारी अन्तिम चरणमा पुगेको मेला मूल आयोजक समितिका संयोजक एवं का कालिका भगवति व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिनुभयो ।
महोत्सवको उद्घाटन गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले गर्ने भएका छन्। मेला उद्घाटनमा समारोहमा प्रदर्शन हुने झाँकी, स्थानीय कला–संस्कृति, कृषि प्रदर्शनीलगायतको तयारी भइरहेको छ।
१४ चैत्रसम्म सञ्चालन हुने मेलालाई कालिका भगवती मन्दिरलाई धार्मिक गन्तव्य रुपमा विकास गर्न र पर्यटकको बसाई लम्ब्याउने अपेक्षाका साथ सञ्चालन गर्न लागिएको हो।मेलाका लागि तयार पारिएका १६० व्यापारिक स्टल र २० वटा स्थानीय उत्पादको प्रर्वद्धनका निम्ति राखिएकोमा स्टल बुक भएको कालिका भगवति व्यवस्थापन समिति सचिव सचिन खड्काले जानकारी दिनुभयो।
मेलामा बागलुङका स्थानीय उत्पादन र सेवालाई विक्री–वितरणका लागि पनि राखिएको छ।महोत्सवमा सञ्चालन हुने खेलहरूको समेत तयारी पूरा भएको छ।
महिला तथा पुरुष भलिबल प्रतियोगितालगायतका खेलको सम्पूर्ण तयारी भएको आयोजकले जनाएको छ।मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुतीसमेत रहने आयोजकले जनाएको छ ।
मेला सम्पन्न गर्न करिव ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको गुठीका कोषाध्यक्षमा अर्जुन खड्काले जानकारी दिनुभयो ।













































































































































































































