बागलुङ । जाली नोट प्रकरणमा पक्राउ परेका अधिवक्ता यामबहादुर चर्माकारलाई जाली मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ ।
आइतबार जिल्ला अदालत बागलुङबाट सातदिनको म्याद थप गरेर उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख तिल भारतीले जानकारी दिनुभयो ।
मुद्रा बनाउन नमिल्ने, कारोबार गर्न नमिल्ने लगायतका मुद्रासम्बन्धी कसुरमा अनुसन्धान गरि रहेको प्रहरीले गिरोहलाई भने समात्न सकेको छैन् ।
एकैजनाले नक्कली नोट बनाउन नसक्ने भन्दै संगठित रुपमा भएको हुन सक्नेभन्दै प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको छ ।
चर्माकारले एक मेडिकल पसलमा औषधी खरिदका लागि उक्त नक्कली नोट दिनुभएको र उहाँले दिएको नोट नक्कली जस्तो देखिएपछि अनुसन्धान गर्दा चर्माकारसँग थप केही नक्कली नोट भेटिएपछि पक्राउ गरिएको हो ।
नक्कली नोट कहाँ छापियो र चर्माकारसँग कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान जारी रहेको छ । बागलुङमा झ ७९१६९०३३ नम्बरको नोट फेला पर्न थालेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।
बजारबाट व्यापारी र सर्वसाधारणले बैंकमा जम्मा गर्न लगेको नोटको बण्डलबाट जाली नोट परेको थियो ।
नेपाल बैंक बागलुङ शाखा, प्रभु बैंक बागलुङ शाखा, सिद्धार्थ बैंक बागलुङ शाखामा, एनएमबि बैंक बागलुङ शाखाबाट जाली नोट फेला परेको थियो ।













































































































































































































