बागलुङ । बागलुङ नगरपालिका वडा नं २ लाई पूर्ण खोपयुक्त वडा सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ।
स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै वडाभित्रका सबै वडावासीलाई आवश्यक खोप सेवा प्रदान गरिएको सुनिश्चित भएपछि उक्त घोषणा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसको दिगोपन कायम राख्न सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा बागलुङ नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुरज बोसेलले जोड दिनुभयो ।
स्वास्थ्य अधिकार सबैको अधिकार भएपनि यसले सबैभन्दा पहिला गरिवीको रेखामुनि भएका र आम सर्वसाधारण स्थानीय बासिन्दाको हित गर्नु पर्ने बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।
यस उपलब्धिले वडा नं २ लाई स्वस्थ, सुरक्षित र जिम्मेवार समुदाय निर्माणतर्फ एक महत्वपूर्ण कदम अगाडि बढाएको विश्वास लिइएको छ।
कार्यक्रमको संचालन अहेव शकुन्तला थापाले गर्नु भएको थियो । कार्यक्रममा बानपा-२ का वडा सचिव हिमाल पौडेलको उपस्थिति रहेको थियो ।
कार्यक्रम वडा खोप समन्वय समिति शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र बानपा-२ को आयोजनामा भएको थियो ।















































































































































































































