बागलुङ। बागलुङ नगरपालिकाको चौथो वार्षिकोत्सवको अवसरमा महत्वपूर्ण योगदान पुर्याउने कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ।
जनप्रतिनिधि निर्वाचित भएको चार वर्षको अवधिमा सेवा प्रवाह, विकास निर्माण, सुशासन प्रवर्द्धन तथा जनउत्तरदायित्वमा उल्लेखनीय भूमिका खेलेका कर्मचारीहरुलाई कदर गर्दै सम्मान गरिएको हो।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने सर्वोत्कृष्ठ कर्मचारीमा नगरपालिकाका प्रशासन प्रमुख भिमसेन पन्त र उत्कृष्ठ कर्मचारीमा राजस्व शाखा प्रमुख सरस्वती देवी रेग्मीलाई कार्यक्रमका प्रमुख अतिथि बागलुङ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत ईश्वरी पौडेलले नगद र कदरपत्रले पुरस्कृत गर्नु भएको थियो ।
साथै नगरपालिकालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपनाको घोषणा गर्दै उत्कृष्ठ कार्य गरेकोमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल, जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद शर्मा, नर्सिङ अधिकृत माधवी शर्मालगाएत नगरको सबै वडाका स्वास्थ्य संस्थाहरु सम्मानित भएका थिए ।
प्राप्त सम्मानले आफूहरुलाई थप जिम्मेवार बनाएको र नगरवासीको सेवामा अझ सक्रियतापूर्वक लाग्ने प्रशासन प्रमुख भिमसेन पन्तले बताउनुभयो । नगरवासीको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन यस सम्मानले थप प्रेरणा प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।
जनप्रतिनिधिहरुको नेतृत्व र प्रयास, कर्मचारीहरुको मेहनत, इमान्दारिता र समर्पणले नगरपालिकाको समग्र विकासमा टेवा पुगेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहमा लाग्ने नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।
सम्मानित कर्मचारीहरुले प्राप्त सम्मानले आफूहरुलाई थप जिम्मेवार बनाएको र जनताको सेवामा अझ सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नगरपालिकाले यस्ता कार्यक्रममार्फत कर्मचारीहरुको मनोबल उच्च बनाउँदै गुणस्तरीय सेवा प्रवाहमा थप सुधार ल्याउने विश्वास व्यक्त गरेको छ।













































































































































































































