२२ जेष्ठ २०८३, शुक्रबार

 

मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेर हिमालयन लाइफ इन्स्योरेन्सले मनायो १८औँ वार्षिकोत्सव

बागलुङ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औँ वार्षिकोत्सवको अवसरमा मानव सेवाप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ।

वार्षिकोत्सवको अवसर पारेर कम्पनीका गण्डकी प्रदेश उपप्रादेशिक प्रमुख बलराम गौतमले मानव सेवा आश्रम बागलुङकी सञ्चालिका विपना तामाङलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा बोल्दै गौतमले संस्थाको वार्षिकोत्सवलाई केवल औपचारिक समारोहमा सीमित नराखी समाजप्रति उत्तरदायी बन्दै सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले आश्रमलाई खाद्यान्न सहयोग गरिएको बताउनुभयो।

उहाँले असहाय, बेवारिसे तथा सडक आश्रित नागरिकहरूको सेवामा समर्पित मानव सेवा आश्रमले पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।

खाद्यान्न ग्रहण गर्दै सञ्चालिका तामाङले आश्रममा आश्रित व्यक्तिहरूको दैनिक जीवनयापनमा सहयोग पुग्ने गरी प्रदान गरिएको सहयोगका लागि हिमालयन लाइफ इन्स्योरेन्स परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोगबाट आश्रम सञ्चालन हुँदै आएको बताउँदै यस्ता सामाजिक सहकार्यले सेवाको दायरा अझ प्रभावकारी बनाउन मद्दत पुग्ने बताउनुभयो।

कम्पनीले वार्षिकोत्सवका अवसरमा देशभर विभिन्न सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung