२२ जेष्ठ २०८३, शुक्रबार

 

दुई करोड ७९ लाख चन्दा उठाएर गलकोट अस्पतालको जग्गा खरिद

बागलुङ । गलकोट नगर अस्पतालको सुविधा सम्पन्न भवन निर्माणका लागि आवश्यक जग्गा खरिदका लागि रु दुई करोड ७९ लाख रकम स्थानीय स्तरबाटै जुटाइएको छ ।

अस्पतालको जग्गा व्यवस्थापन, खरिद तथा स्वास्थ्य उपकरण खरिदका लागि सञ्चालन गरिएको सहयोग अभियानबाट उक्त रकम संकलन गरिएको हो ।

गलकोट नगरपालिका आर्थिक तथा जग्गा व्यवस्थापन समितिका कोषाध्यक्ष टंकबहादुर केसीका अनुसार अभियानमार्फत हालसम्म रु।दुई करोड ७९ लाख ६२ हजार ८९० संकलन गरिएको हो ।

रकम मध्ये दुई करोडबाट अस्पतालको जग्गा खरिदमा खर्च गरिएको छ भने १९ लाख १० हजार बराबरको एक्स–रे मेसिन खरिद गरिएको छ । समितिका अनुसार हालसम्म रु दुई करोड २१ लाख ७५ हजार ५ सय ७० खर्च भइसकेको छ भने रु ७२ लाख ८७ हजार ३ सय बैंक मौज्दात रहेको छ ।

गलकोट नगर अस्पतालको स्तरवृद्धि, पूर्वाधार विस्तार तथा दीर्घकालीन विकासका लागि आवश्यक जग्गा व्यवस्थापन गर्ने उद्देश्यले आर्थिक तथा जग्गा व्यवस्थापन समिति गठन गरी सहयोग संकलन गरिएको थियो ।

अभियानमा देशका विभिन्न जिल्ला तथा विदेशमा रहेका गलकोटवासीले आर्थिक सहयोग गरेका थिए । गाउँमै अस्पतालको सुविधा सम्पन्न भवन संगै अन्य पूर्वाधार थप गर्नका लागि स्थानीय जुटेका थिए ।

गलकोट नगरपालिका–५ हरिचौर स्थित गलकोट नगरपालिका अस्पताल अघिको जग्गा अस्पतालको नाममा बनाउन स्थानीयहरुले सक्रियता जनाएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

उहाँले गलकोट नगर अस्पतालको स्तरवृद्धि र गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि स्थानीयले झण्डै तीन करोड रकम जुटाएकोमा खुसी व्यक्त गर्नुभयो । अस्पताललाई थप व्यवस्थित, सुविधासम्पन्न र नागरिकमैत्री बनाउने लक्ष्यसहित जग्गा व्यवस्थापन अभियान सञ्चालन गरिएको थियो ।

गलकोट नगर अस्पतालमा थप स्वास्थ्य सेवा विस्तार, आधुनिक उपकरण व्यवस्थापन तथा विशेषज्ञ चिकित्सकीय सेवा सञ्चालनका लागि जग्गा व्यवस्थापनले सहज भएको गलकोट नगरअस्पतालका प्रमुख डा. राजेश शर्माले बताउनुभयो ।

अस्पताल स्तरोन्नतीका लागि अस्पतालसंग जोडिएको झण्डै साढे दुई रोपनी जग्गा अस्पतालको नाममा ल्याइएको हो ।

अस्पताल स्तरोन्नतीका लागि अस्पतालका नाममा जग्गा आवश्यक भएकाले स्थानीयको सक्रियतामा जग्गा खरिद गरिएको गलकोट नगरपालिका–५ हरिचौरका वडा अध्यक्ष पवन हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung