८ असार २०८३, सोमबार

 

पोषणमैत्री बन्दै बडिगाड गाउँपालिका

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका पोषणमैत्री गाउँपालिका घोषणा हुने अन्तिम चरणमा पुगेको छ।

गाउँपालिकाका सबै १० वटै वडा पोषणमैत्री घोषणा भइसकेका छन् भने अब पालिका घोषणा गर्ने तयारी तीव्र पारिएको छ।

संघीय सरकारको सहयोगमा तीन वर्षदेखि सञ्चालन गरिएको पोषणमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत आवश्यक ३४ वटै सूचक पूरा भएपछि सबै वडा पोषणमैत्री घोषणा भएका हुन्।

जेठ २८ गते वडा नम्बर–९ दर्लिङलाई पहिलो पोषणमैत्री वडा घोषणा गरिएको थियो भने असार ५ गतेसम्म सबै वडा घोषणा सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ।

राष्ट्रिय प्रशिक्षक विष्णु प्रसाद चौबेका अनुसार बडिगाड र कालीगण्डकी गाउँपालिका देशकै पहिलो पोषणमैत्री गाउँपालिका बन्ने प्रतिस्पर्धामा छन्।

दुवै पालिकाले सबै वडा पोषणमैत्री घोषणा गरिसकेका छन् र जसले पहिले पालिका घोषणा गर्छ, उसैले देशकै पहिलो पोषणमैत्री गाउँपालिकाको पहिचान प्राप्त गर्नेछ।

गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पोषण सुधारका लागि कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ लगायतका क्षेत्रमा व्यापक काम गरिएको बताउनुभयो।

पोषण सचेतना, करेसाबारी प्रवर्द्धन, भान्सा तथा गोठ सुधार, रैथाने अन्नबालीको उपयोग तथा समुदायस्तरमा पोषण अभियान सञ्चालन गरिएकाले लक्ष्य हासिल गर्न सफलता मिलेको उहाँको भनाइ छ।

विद्यालयहरूमा जङ्क फुड निषेध गरिएको छ। विद्यार्थीलाई सातु, कोदोको हलुवा, खिर, चना, अण्डा लगायतका पोषणयुक्त खाजा उपलब्ध गराउन थालिएको छ।

स्वास्थ्य संस्थामा तौल जाँच गर्न आउने बालबालिकालाई अण्डा उपहार दिने व्यवस्था समेत गरिएको छ।

कार्यक्रम संयोजक शेरबहादुर बुढाका अनुसार गाउँपालिकाभित्रका ६९ वटै टोल पूर्ण सरसफाइयुक्त घोषणा भइसकेका छन् भने स्वास्थ्य संस्था समेत पोषणमैत्री बनिसकेका छन्।

प्रदेशस्तरीय अनुगमन समितिको सिफारिसपछि बडिगाडलाई पोषणमैत्री गाउँपालिका घोषणा गरिने तयारी भइरहेको छ।

स्थानीय तहमा पोषण सुधारका प्रभावकारी अभ्यास लागू गर्दै बडिगाड गाउँपालिका देशकै पहिलो पोषणमैत्री गाउँपालिका बन्ने लक्ष्यतर्फ अघि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung