बागलुङ । बागलुङ नगरपालिका–५ का वडा सदस्य तथा कृषक बलराम शर्माले भारतबाट ल्याइएको मुर्रा राँगामार्फत भैँसीको नश्ल सुधार गर्दै दैनिक १५० लिटर दूध उत्पादन गरिरहेका छन्। पशुपालन र फलफूल खेतीलाई व्यावसायिक रूपमा अघि बढाउँदै आएका शर्माले उन्नत नश्लका पशु प्रवर्द्धनमार्फत आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्।
उच्च दूध उत्पादन क्षमताका कारण ‘कालो सुन’का रूपमा परिचित मुर्रा जातको भैँसीले दैनिक न्यूनतम २५ लिटरदेखि अधिकतम ३८ लिटरसम्म दूध उत्पादन गर्न सक्ने बताइन्छ। रैथाने भैँसीको तुलनामा मुर्रा जातले झण्डै दोब्बर दूध दिने भएकाले यसको व्यावसायिक महत्व बढ्दो छ।
भैँसीको नश्ल सुधार गर्ने उद्देश्यसहित शर्माले भारतबाट मुर्रा राँगो ल्याएका हुन्। राँगो खरिद तथा व्यवस्थापनका लागि उनले करिब एक लाख ४० हजार रुपैयाँ लगानी गरेका छन्। मुर्रा राँगाको प्रयोगबाट स्थानीय भैँसीको उत्पादन क्षमता वृद्धि हुनुका साथै गुणस्तरीय बाछाबाछी उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाल शर्माको फार्मबाट दैनिक करिब १५० लिटर दूध उत्पादन भइरहेको छ। उत्पादित दूध स्थानीय बजारमा बिक्री हुने गरेको छ भने दुग्ध व्यवसायबाट राम्रो आम्दानीसमेत भइरहेको छ। पशुपालनसँगै उनले फलफूल खेतीलाई पनि व्यावसायिक रूपमा विस्तार गरेका छन्।
उन्नत नश्लका पशुको प्रयोगले दूध उत्पादन वृद्धि भई कृषकको आयआर्जनमा सकारात्मक प्रभाव परेको भन्दै स्थानीय किसानहरू पनि मुर्रा जातप्रति आकर्षित हुन थालेका छन्। स्थानीय स्तरमै उन्नत नश्लको विकास गर्न सकिए दुग्ध उत्पादनमा आत्मनिर्भर बन्ने तथा ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
कृषि तथा पशुपालनलाई आधुनिक र व्यवसायमुखी बनाउने अभियानअन्तर्गत बलराम शर्माले थालेको प्रयासले जिल्लाका अन्य कृषकलाई समेत प्रेरणा दिएको छ। मुर्रा राँगाबाट नश्ल सुधारको अभियानले आगामी दिनमा बागलुङसहित आसपासका क्षेत्रमा दुग्ध उत्पादन वृद्धि र कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ।













































































































































































































