३१ श्रावण २०८३, आईतवार

 

रामनारायण श्रेष्ठ स्मृति वाणिज्य पुरस्कार धवलागिरि क्याम्पसकी सुरक्षा सापकोटालाई

बागलुङ । बागलुङ उद्योग वाणिज्य संघको ६२औँ साधारण सभाको अवसरमा संघको पूर्वअध्यक्ष रामनारायण श्रेष्ठको स्मृतिमा स्थापना गरिएको शैक्षिक अक्षयकोषअन्तर्गत प्रदान गरिने वाणिज्य पुरस्कारबाट धवलागिरि बहुमुखी क्याम्पसकी विद्यार्थी सुरक्षा सापकोटा सम्मानित भएकी छन्।

विसं २०८१ सालको वार्षिक परीक्षामा बीबीएस तहमा सर्वोत्कृष्ट अंक प्राप्त गरेकी सापकोटालाई नगद १० हजार ५ सय रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको हो।

शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेल, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य तथा महासचिव इन्द्रमणि पौडेल ‘अर्जुन’ ले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए।

पूर्वअध्यक्ष रामनारायण श्रेष्ठका छोरा जयप्रकाश श्रेष्ठ र बुहारी रिता श्रेष्ठले आफ्ना बुबाको स्मृतिमा धवलागिरि बहुमुखी क्याम्पसमा बीबीएसमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई हरेक वर्ष पुरस्कृत गर्ने उद्देश्यले विसं २०८१ सालमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्।

बागलुङ नगरपालिका-५ मालिका निवासी सापकोटाले सम्मानपछि प्रतिक्रिया दिँदै  उक्त पुरस्कारले आफ्नो शैक्षिक यात्रामा थप उत्साह, जिम्मेवारी र उत्कृष्टता हासिल गर्ने प्रेरणा दिएको बताइन्।

संघले ६२औँ साधारण सभाको अवसरमा उद्योगी–व्यवसायी, पत्रकार, विद्यार्थी तथा विभिन्न मन्दिर व्यवस्थापन समितिलाई समेत सम्मान गरेको थियो।

कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन महासचिव इन्द्रमणि पौडेल ‘अर्जुन’ले गरेका थिए भने समापन वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले गरेका थिए।

विसं २०२० सालमा संस्थापक अध्यक्ष शिवकुमार प्रधानको नेतृत्वमा स्थापना भएको बागलुङ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत सदस्यका रूपमा उद्योग, व्यापार तथा निजी क्षेत्रको हित, संरक्षण र प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung