बागलुङ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने National Best Presented Annual (BPA) Report Award–2025 अन्तर्गत ब्रन्ज अवार्ड प्राप्त गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले उक्त अवार्ड संयुक्त रूपमा ग्रहण गरेका हुन्।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदनका मापदण्ड तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताको मूल्याङ्कन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।
यस अवार्डले आईएमई लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत रूपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गरेको कम्पनीले जनाएको छ।
प्रमुख कार्यकारी अधिकृत पवन खड्काले उक्त सम्मान सम्पूर्ण आईएमई लाइफ परिवारका लागि गर्वको विषय भएको बताए। उनले वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउने जिम्मेवारीसमेत थपिएको उल्लेख गरे।
यस सफलताका लागि उनले सञ्चालक समिति, कम्पनीप्रति विश्वास व्यक्त गर्ने बीमित ग्राहक, अभिकर्ता, समर्पित कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।
त्यसैगरी, कम्पनीले यसै वर्ष वित्तीय स्थायित्व, सुदृढ बजारस्थिति तथा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमताका आधारमा केयर रेटिङ नेपालबाट ‘A-’ (ए माइनस) क्रेडिट रेटिङ प्राप्त गर्ने जीवन बीमा कम्पनीका रूपमा पनि आफूलाई स्थापित गरेको जनाएको छ।
देशभरका १६० शाखा तथा उपशाखा, ३५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जाल, सुदृढ संस्थागत सुशासन तथा वित्तीय पारदर्शितासहित आईएमई लाइफले ‘भविष्य सुनिश्चित गर्दै’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै निरन्तर अगाडि बढिरहेको कम्पनीले जनाएको छ।













































































































































































































