६ श्रावण २०८३, बुधबार

 

अत्यधिक रक्तस्रावपछि निसीखोलाकी सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

बागलुङ । अत्यधिक रक्तस्राव भएपछि बागलुङको निसीखोला गाउँपालिकाकी एक सुत्केरीको नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं उद्धार गरिएको छ।

निसीखोला गाउँपालिका–३ धाराखर्क निवासी ३९ वर्षीया मीना सुनारको सुत्केरीपछिको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि बुधबार हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको हो।

सुनारले मंगलबार बिहान करिब ७ बजे बोहोरा गाउँ स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिनुभएको थियो। सुरुमा उहाँको स्वास्थ्य अवस्था सामान्य रहे पनि पछि शरीरभित्र अत्यधिक रक्तस्राव भई रगत जम्न थालेपछि अवस्था गम्भीर बनेको थियो।

स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उहाँलाई बुधबार बुर्तिबाङ अस्पताल ल्याइएको थियो। तर अस्पतालमा आवश्यक विशेषज्ञ उपचार सम्भव नभएपछि तत्काल काठमाडौं रिफर गरिएको हो।

बुर्तिबाङ अस्पतालका प्रमुख डा। अविनाश पोखरेलका अनुसार बिरामीको अवस्था निकै जटिल रहेकाले तत्काल विशेषज्ञ उपचार आवश्यक परेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको हो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung