१६ श्रावण २०८३, शनिबार

 

रास्वपा बागलुङको मतदान सम्पन्न, मतगणना सुरु, २० उम्मेदवारको भाग्य मतपेटिकामा

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएसँगै मतगणना सुरु भएको छ।

बागलुङ नगरपालिका–३ स्थित राधाकृष्ण मन्दिरको सभा कक्षमा शनिबार सम्पन्न अधिवेशनमा विभिन्न पदका लागि २० जनाले उम्मेदवारी दिएका थिए। साँझ मतदान सकिएलगत्तै मतगणना सुरु गरिएको जिल्ला अधिवेशन निर्वाचन समितिले जनाएको छ।

सभापति पदका लागि ढालेन्द्र माझी र पुनम प्रसाद शर्मा प्रतिस्पर्धामा छन्। निर्वाचन समितिका प्रमुख डा। राम गुरुङका अनुसार दुवैले सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन्।

उपसभापति पदमा खिमानन्द पौडेल र देवु बुढाथोकी, सचिव पदमा लिलबहादुर खत्री (बबिन) र प्रकाश रिजाल, तथा सहसचिव पदमा हेमलाल उपाध्याय (बालकृष्ण) र कमलप्रसाद खरेल प्रतिस्पर्धामा छन्।

सदस्य पदमा खिमलाल जैसी सापकोटा, सुनिता विक, हुमकुमारी भण्डारी, ओमप्रसाद न्यौपाने र दुर्गा गौतम उम्मेदवार बनेका छन्।

जिल्ला सदस्य तथा निर्वाचन क्षेत्र नं १ संयोजक पदमा रामप्रसाद अधिकारी र यमकुमार मल्ल, तथा जिल्ला सदस्य एवं निर्वाचन क्षेत्र नं २ संयोजक पदमा हिमाल खत्री र कृष्णबहादुर नेपाली चुनावी प्रतिस्पर्धामा छन्।

त्यसैगरी निर्वाचन क्षेत्र नं १ (ख) संयोजकमा लालबहादुर पाठक, निर्वाचन क्षेत्र नं १ (क) संयोजकमा टिकाराम सापकोटा तथा निर्वाचन क्षेत्र नं २ सचिवमा दिपेन्द्र खत्री क्षेत्रीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

जिल्लाका १० वटै स्थानीय तहबाट प्रतिनिधिहरूको सहभागिता रहेको अधिवेशनको मतपरिणाम आजै सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung