१७ श्रावण २०८३, आईतवार

 

भदौ २८–२९ गते बाग्लुङमा पाँचौं तीज मेला आयोजना हुने

बागलुङ । गुठी युवा क्लबको आयोजनामा पाँचौं तीज मेला आगामी भदौ २८ र २९ गते बागलुङ नगरपालिका–३ स्थित चिप्लेटी बसपार्कमा आयोजना हुने भएको छ।

सांस्कृतिक परम्पराको संरक्षण, मनोरञ्जन तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको क्लबका सचिव सुवास रुचालले जानकारी दिए।

मेलामा अन्तरविद्यालय तीज गीत तथा नृत्य प्रतियोगिता, महिला तथा पुरुषका लागि सोलो स्कुटर प्रतियोगिता र घैँटोफोर प्रतियोगिता सञ्चालन गरिनेछ।

साथै महिला समूहद्वारा मौलिक तीज गीत प्रस्तुत गरिनुका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति मेलाको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ।

चिप्लेटी बसपार्कको प्राङ्गणमा सञ्चालन हुने मेलाको मुख्य आयोजक गुठी युवा क्लब रहेको छ।

बागलुङ नगरपालिका–३ को कार्यालय, चिप्लेटी महिला समूह, गुठी आमा समूह तथा चिप्लेटी युवा क्लब सहआयोजकका रूपमा रहेका छन्।

आयोजकका अनुसार मेलाले तीज पर्वको मौलिक संस्कृतिको संरक्षणसँगै स्थानीय कला, संस्कृति र सामुदायिक एकतालाई थप मजबुत बनाउन योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung