२४ श्रावण २०८३, आईतवार

 

बागलुङमा ग्यासका लागि अनावश्यक लाइन नबस्न र आधिकारिक विक्रेताबाट मात्र ग्यास लिन प्रशासनको आग्रह

बागलुङ । ग्यास आउने यकिन जानकारीबिनै खाली सिलिन्डर बोकेर बागलुङ बजारमा लामो समयसम्म लाइनमा बस्नुपर्ने र ग्यास नपाई रित्तो हात फर्किनुपर्ने समस्या बढेपछि सरोकारवालाले खाना पकाउने ग्यासको वितरणलाई सहज, व्यवस्थित र पारदर्शी बनाउने सहमति गरेका छन्।

जिल्ला प्रशासन कार्यालय बागलुङमा आइतबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न आग्रह गर्दै आधिकारिक ग्यास विक्रेताबाट मात्र ग्यास खरिद गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो।

बैठकमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय तह, राष्ट्रिय उपभोक्ता मञ्च, नेपाल पत्रकार महासंघ बागलुङ तथा बागलुङ एलपि ग्यास विक्रता संघका प्रतिनिधिको सहभागिता थियो।

नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालका अनुसार अब उपभोक्ताले ग्यास आएको वा नआएको विषयमा सम्बन्धित आधिकारिक विक्रेतासँग जानकारी लिएर मात्र सिलिन्डर लिएर जानुपर्नेछ।

बागलुङ बजारमा रहेका १८ वटा आधिकारिक बिक्री केन्द्रमार्फत उपभोक्ताको अभिलेख राखेर ग्यास वितरण गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले नयाँ विश्वलाई बताउनुभयो ।

ग्यास लिन जाँदा उपभोक्ताले नागरिकता वा आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।

प्रशासनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्नसमेत आग्रह गरेको छ। ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक रूपमा भण्डारण गर्ने तथा कालोबजारी गर्ने गतिविधि नियन्त्रणका लागि अनुगमन टोली परिचालन गरिएको प्रशासनले जनाएको छ।

अनावश्यक रूपमा ग्यास सञ्चित गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

उपभोक्ताले यसअघि ग्यास खरिद गरेको विवरणसमेत विक्रेताले राख्ने भएकाले हल्लाको भरमा एकैपटक विभिन्न ठाउँमा लाइन बस्ने वा आवश्यकता नपरे पनि ग्यास सञ्चय गर्ने काम नगर्न सरोकारवालाले आग्रह गरेका छन्।

त्यस्तै, ग्यास विक्रेताले तोकिएको मूल्यभन्दा बढी रकम लिएमा नजिकको प्रशासनिक निकाय वा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन उपभोक्तालाई आग्रह गरिएको छ।

यसैबीच, बागलुङ बजारमा आधिकारिक ग्यास विक्रेताबाहेक किराना तथा अन्य पसलबाट समेत मनपरी ढंगले ग्यास बिक्रीवितरण भइरहेको विषयले समस्या थपिएको सरोकारवालाले बताएका छन्।

ग्यासको बिक्रीवितरणलाई व्यवस्थित बनाउन आधिकारिक विक्रेतामार्फत मात्र विक्री गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उपभोक्ता पक्षले जोड दिएको छ।

सरोकारवालाले ग्यास अभावको अवस्थामा उपभोक्ताले पनि संयमता अपनाउनुपर्ने र विक्रेताले पारदर्शी तथा व्यवस्थित रूपमा वितरण गर्नुपर्ने बताएका छन्।

ग्यास लिन जाँदा उपभोक्ताले नागरिकता वा आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा लैजान बागलुङ एलपि ग्यास विक्रता संघका अध्यक्ष हरि आचार्यले जानकारी दिनुभयो ।

यसबाट अभाव भएका ग्राहकले सहज रुपमा ग्यास पाउने र बजारमा रहेको अनावश्यक भीड, हल्ला र कृत्रिम अभाव नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा प्रशासनले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung