बागलुङ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको नौ वर्ष पूरा गरेको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ।
कम्पनीले वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थालाई १० थान ‘न्यानो नानी’ बेबी वार्मर उपलब्ध गराउने भएको छ। कम्पनीले भदौ १ गते आफ्नो नवौं वार्षिकोत्सव मनाएको हो।
वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ भने देशभरका शाखामार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रममार्फत समाजका विभिन्न वर्ग र क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्याउनुका साथै जीवन बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको बताए।
उनका अनुसार रक्तदान कार्यक्रमले अस्पतालमा हुने रगतको अभाव कम गर्न सहयोग पुग्ने तथा वृक्षारोपणले वातावरण संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
खाद्यान्न वितरण कार्यक्रम आर्थिक रूपमा विपन्न परिवारलाई प्रत्यक्ष राहत पुर्याउने उद्देश्यले सञ्चालन गरिएको उनले बताए।
राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता
वार्षिकोत्सवकै अवसरमा आइएमई लाइफले राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ बेबी वार्मर वितरणका लागि सहकार्य सम्झौता गरेको छ।
सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै अनुसन्धान तथा विकास गरी उत्पादन गरेको ‘न्यानो नानी’ उपकरण आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले सम्झौताले दुई संस्थाबीच दीर्घकालीन सहकार्यको आधार तयार गर्नुका साथै नवजात शिशुको स्वास्थ्य क्षेत्रमा प्रविधिमैत्री समाधान पुर्याउने कम्पनीको प्रतिबद्धतालाई थप संस्थागत गरेको बताए।
‘न्यानो नानी’ समयअगावै जन्मिएका वा कम तौल भएका नवजात शिशुलाई आवश्यक तापक्रम उपलब्ध गराउन प्रयोग गरिने चिकित्सकीय उपकरण हो।
विशेषगरी स्वास्थ्य पूर्वाधार सीमित रहेका तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थाका लागि यस्तो उपकरण उपयोगी हुने कम्पनीको भनाइ छ।
कर्णाली र सुदूरपश्चिममा पहिलो चरण
सहकार्यको पहिलो चरणमा कर्णाली र सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संस्थालाई १० थान ‘न्यानो नानी’ उपकरण उपलब्ध गराइने भएको छ।
भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य सेवामा पहुँचको कमीका कारण दुर्गम क्षेत्रमा नवजात शिशुको उपचारमा देखिने समस्यालाई सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको कम्पनीले जनाएको छ।
सम्बन्धित स्थानीय स्वास्थ्य संस्था तथा उपयुक्त स्थानमा उपकरण जडान गरिनेछ। यसबाट नवजात शिशुको उपचारमा सहयोग पुग्नुका साथै आमा तथा शिशु स्वास्थ्य सेवामा सुधार ल्याउन मद्दत पुग्ने अपेक्षा कम्पनीले गरेको छ।
प्रमुख कार्यकारी अधिकृत खड्काले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) नीतिअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको बताए। कम्पनीले आगामी दिनमा ‘न्यानो नानी’ कार्यक्रमलाई देशका अन्य प्रदेश तथा जिल्लामा समेत क्रमशः विस्तार गर्ने योजना रहेको जनाएको छ।
नौ वर्षमा ग्राहकको विश्वास आर्जन गरेको दाबी
आइएमई लाइफले जीवन बीमाबारे जनचेतना अभिवृद्धि गर्ने, बीमा सुविधामार्फत ग्राहकको वित्तीय सुरक्षालाई बलियो बनाउने तथा राष्ट्रको समग्र विकासमा योगदान पुर्याउने उद्देश्यसहित सेवा सञ्चालन गर्दै आएको जनाएको छ।
नौ वर्षको यात्रामा सर्वसुलभ पहुँच, छिटोछरितो दाबी भुक्तानी तथा ग्राहकको आवश्यकताअनुसारका बीमा समाधानमार्फत विश्वास आर्जन गरेको कम्पनीको दाबी छ।
देशभर फैलिएको शाखा सञ्जाल र दक्ष जनशक्तिमार्फत सर्वसाधारणलाई गुणस्तरीय जीवन बीमा सेवा उपलब्ध गराउँदै जाने प्रतिबद्धता कम्पनीले जनाएको छ।
















































































































































































