बागलुङ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के, एमडी ३२५० नेपालअन्तर्गत रिजन–१ को समन्वयमा बागलुङमा उद्घोषण तथा प्रभावकारी सार्वजनिक वक्तृत्वकलासम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।
रिजन चेयरपर्सन रन्जिता श्रेष्ठको समन्वय तथा लायन्स क्लब अफ धौलागिरि बागलुङ, लायन्स क्लब अफ बागलुङ, लायन्स क्लब अफ मुक्तिनाथ, लायन्स क्लब अफ शालिग्राम, लायन्स क्लब अफ बागलुङ भिजन र लियो क्लब अफ बागलुङको व्यवस्थापनमा तालिम आयोजना गरिएको हो।
चिफ एजुकेटिभ एडभाइजर काजिमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रिजन चेयरपर्सन रन्जिता श्रेष्ठले अध्यक्षता गर्नुभएको थियो भने क्लस्टर चिफ अस्मिता गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा एजुकेटिभ चिफ डाइरेक्टर दुर्गा कुँवर, एजुकेटिभ चिफ अनुप रिजाल र जिएलटी डिस्ट्रिक्ट कोअर्डिनेटर नारायण आचार्यले मन्तव्य व्यक्त गरेका थिए।
तालिममा लायन्सका पदाधिकारी, सदस्य तथा विभिन्न क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रशिक्षक गणेश महतोले उद्घोषण कला, प्रभावकारी सार्वजनिक वक्तृत्व, कार्यक्रम सञ्चालनका आधारभूत सीप तथा नेतृत्व विकासका विषयमा प्रशिक्षण दिनुभएको थियो।
तालिमका क्रममा कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने तरिका, मञ्च सञ्चालन गर्दा अपनाउनुपर्ने शिष्टाचार, श्रोतामाझ आत्मविश्वासका साथ प्रस्तुत हुने शैली, प्रभावकारी रूपमा बोल्ने कला, स्वागत मन्तव्य तथा धन्यवाद ज्ञापन गर्ने विधि, अतिथि परिचय, समय व्यवस्थापन र औपचारिक कार्यक्रम सञ्चालनका व्यवहारिक पक्षबारे प्रशिक्षण दिइएको थियो।
प्रशिक्षक महतोले सफल उद्घोषक तथा वक्ताका लागि स्पष्ट उच्चारण, विषयवस्तुको ज्ञान, आत्मविश्वास र प्रभावकारी सञ्चार सीप आवश्यक हुने बताउनुभयो।
सार्वजनिक कार्यक्रममा वक्ताको प्रस्तुतिले कार्यक्रमको सफलतामा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले अभ्यास र तयारीलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।
सहभागीहरूले तालिमबाट उद्घोषण तथा सार्वजनिक वक्तृत्वकलासम्बन्धी व्यवहारिक ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका थिए। तालिमले लायन्स सदस्यहरूको नेतृत्व क्षमता, सञ्चार सीप तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी सहभागिता अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले सदस्यहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सेवामूलक गतिविधिलाई प्रभावकारी बनाउन यस्ता तालिममूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
















































































































































































