बागलुङ । नेपाली मौलिक संस्कृति, परम्परा र तीज पर्वको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले बागलुङ बजारमा गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता हुने भएको छ ।
प्रबुद्ध युवा समूह बागलुङको आयोजनामा आगामी भदौ २२ गते बागलुङको समीक्षालय चोकमा प्रतियोगिता आयोजना गर्न लागिएको बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
प्रतियोगितामा गण्डकी प्रदेशभरका विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।
विद्यालय तहका विद्यार्थीमा मौलिक कला, संस्कृति र परम्पराप्रति रुचि तथा अपनत्व विकास गराउनुका साथै प्रतिभावान विद्यार्थीलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समूहले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई रु.५५ हजार ५ सय ५५, द्वितीयलाई रु. २७ हजार ७ सय ७७ र तृतीयलाई रु. १५ हजार ५ सय ५५ पुरस्कार प्रदान गरिनेछ ।
उत्कृष्ट कोरियोग्राफी, प्रस्तुति तथा सहभागिताका लागि विशेष सम्मान र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रबुद्ध युवा समूहले समाजसेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद, कला तथा संस्कृतिको क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
प्रतियोगितालाई सफल बनाउन स्थानीय सरकार, संघसंस्था, बैंक, सहकारी, उद्योगी–व्यवसायी तथा निजी क्षेत्रसँग सहकार्य गरी आर्थिक तथा प्राविधिक सहयोग जुटाइने प्रबुद्ध युवा समूह बागलुङका अध्यक्ष रोहित सुनारले बताउनुभयो ।
प्रतियोगितामा सांस्कृतिक साँझ समेत आयेजना गरिने भएको छ । कार्यक्रममा रु. ७ लाख ६८ हजार खर्च हुने आयोजकको अनुमान छ । पत्रकार सम्मेलनको सञ्चालन पत्रकार दिलिप प्रतेलले गर्नुभएको थियो ।
यसैबीच, रसुवाबाढीको विपद् कोषमा प्रबुद्ध युवा समुहद्वारा १० हजार सहयोग गर्ने भएको छ । रसुवागढी क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीले व्यापक क्षति पु-याएपछि उद्वार र राहतका लागि रकम जुट्न थालेको छ ।
बागलुङको प्रबुद्ध युवा समुहले प्रभावित जिल्लाको विपद् कोषमा रकम जम्मा गर्ने भएको हो ।
बुधबार बसेको समुहको बैठकले रसुवाको भोटेकोशी नदिमा आएको बाढीबाट नुवाकोट र रसुवा जिल्लामा ठुलो मानिवय र भौतिक क्षति पु-याएपछि त्यहाँको जिल्ला विपद् कोषमा दश हजार रुपियाँ जम्मा गर्ने निर्णय गरेको प्रबुद्ध युवा समुहको अध्यक्ष रोहित सुनारले जानकारी दिए ।
बैठकले बाढीबाट ज्यान गुमाउने मृतकप्रति श्रद्धाञ्जली र घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । प्राकृतिक विपद्मा सरकारलाई सघाउन राहत तथा उद्दारको लागि विपद् कोषमा दश हजार जम्मा गर्ने निर्णय भएको सुनारले बताए ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, नुवाकोट र धादिङ क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पु¥याएको छ ।
















































































































































































