बागलुङ । बागलुङ नगरपालिकाले विद्यामन्दिर माध्यमिक विद्यालयको प्रधानाध्यापकमा छवि रमण रेग्मीलाई नियुक्त गरेको छ।
नगरपालिकाको शिक्षा शाखाले शुक्रबार रेग्मीलाई प्रधानाध्यापकमा नियुक्त गरेको शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले नयाँ विश्वलाई जानकारी दिनुभयो।
बागलुङ नगरपालिकाले गत भदौ ११ गते सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिका लागि २३ वटा विद्यालयमा विज्ञापन खुलाएको थियो। सोही प्रक्रियाअन्तर्गत विद्यामन्दिर माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष श्रीजय श्रेष्ठ संयोजक रहेको छनोट समितिले रेग्मीलाई प्रधानाध्यापकमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
शिक्षा नियमावलीको दशौँ संशोधनमा भएको व्यवस्थाअनुसार नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक व्यवस्थापन कार्यविधिअन्तर्गत विज्ञापन आह्वान गरी एकैपटक ठूलो संख्यामा प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अघि बढाएको हो।
नगरपालिकाले यसरी एकैपटक धेरै विद्यालयमा प्रधानाध्यापक नियुक्तिको प्रक्रिया थालेको यो पहिलो अभ्यास हो।

















































































































































































