बागलुङ । स्तरोन्नतिको चरणमा रहेको बागलुङको बुर्तिबाङ प्रादेशिक अस्पतालमा हाडजोर्नी तथा नसासम्बन्धी जटिल शल्यक्रिया हुन थालेको छ ।
ढोरपाटन नगरपालिका–१ बुर्तिबाङस्थित अस्पतालमा पहिलोपटक हाडजोर्नी तथा ट्रमासम्बन्धी तीनवटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अविनास पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार शनिबार एकैदिन ४७ वर्षीया महिलाको दाहिने खुट्टाको गोलीगाँठोको भाँचिएको हड्डीमा पाता तथा स्क्रुको प्रयोग गरी शल्यक्रिया गरिएको थियो । त्यस्तै, ४० वर्षीया महिलाको दाहिने हातको नसामा परेको दबाब हटाउने तथा १७ वर्षीया महिलाको दाहिने हातमा रहेको गाँठो (सिस्ट) निकाल्ने शल्यक्रिया गरिएको हो ।
अस्पतालका डा.अविशेक चौहानको नेतृत्वमा डा। दिनेश थापा, डा. सुरज नेपालीसहितको स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको डा. पोखरेलले बताउनुभयो ।
अस्पतालमा हाडजोर्नी तथा ट्रमासम्बन्धी जटिल शल्यक्रिया सुरु भएपछि पश्चिम बागलुङ तथा आसपासका ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । सेवा विस्तारका क्रममा शल्यक्रिया सफल हुनु अस्पतालका लागि महत्वपूर्ण उपलब्धि भएको अस्पतालले जनाएको छ ।
















































































































































































