बागलुङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) बागलुङले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा क्षति पुगेका विद्यालयको पुनर्निर्माणका लागि १२ लाख ७७ हजार ६३३ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
प्याप्सन बागलुङमा आबद्ध सदस्य विद्यालय, विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट संकलित रकम बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
प्याप्सन बागलुङका अध्यक्ष दल थापाका अनुसार संस्थामा आबद्ध विद्यालय तथा विद्यालय परिवारबाट आठ लाख २४ हजार ७४१ रुपैयाँ संकलन भएको थियो । त्यस्तै, बाँकी चार लाख ५२ हजार ८९२ रुपैयाँ प्याप्सनमा आबद्ध विद्यालयहरूले सिधै सहयोग गरेका थिए ।
प्याप्सन केन्द्रले देशभरका जिल्लाबाट संकलित रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेअनुसार बागलुङबाट संकलित रकम केन्द्रमा पठाइएको अध्यक्ष थापाले नयाँ विश्वलाई जानकारी दिनुभयो ।
अध्यक्ष थापाले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक, विद्यार्थी तथा विद्यालयको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको बताउनुभयो ।
प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको संकटपूर्ण अवस्थामा देशभरका विभिन्न संघसंस्था एकजुट भएर राहत तथा सहयोग अभियानमा जुट्नुपर्ने उहाँको भनाइ थियो ।
गत भदौ १० गते आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती प्रभावित भएका थिए । बाढीबाट रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ ।
विपत्तिपछि सर्वसाधारण, वित्तीय संस्था, आमा समूह, युवा, शिक्षक, कर्मचारी, शैक्षिक संस्था, उद्योगी–व्यवसायी, विभिन्न संघसंस्था तथा दाताहरूले प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन् ।
















































































































































































